काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुनसक्ने लक्षण देखिएको भन्दै सजग हुन सबैलाई आह्वान गर्नुभएको छ ।
बुद्ध जयन्तीको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारीले भयावह रुप लिनसक्ने भन्दै उनले सबैलाई सजग हुन आग्रह गर्नुभएको छ ।
सरकारले चालेका प्रभावकारी कदमका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह नभएको दावी गर्दै प्रधानमन्त्री ओलीले तर, भयावह हुनसक्ने लक्षणहरु देखिएको उल्लेख गर्नुभएको छ । ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ’ उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाप्रति पनि श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले गौतम बुद्धका शान्तिका सन्देश सबैले संप्रेषण गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गर्नुभएको छ ।