विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान् साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बिहीबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
विश्व शान्तिका अग्रदूतm शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सन्देशमा बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उभौली जस्ता चाडपर्वले नेपालको भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उहाँको सन्देशमा उल्लेख छ ।
हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री राईले यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको बताउनुभको छ । कोरोना भाइरसको कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको उल्लेख गर्दै उहाँले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन मुख्यमन्त्री राईले विशेष अपीलसमेत गर्नुभएको छ ।
यी चाडपर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ ।