विराटनगर । कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या छिमेकी मुलुक भारतमा गएको २४ घण्टामा ह्वात्तै बढेको छ।
भारतमा पछिल्लो २४ घण्टामा झण्डै ४ हजार नयाँ सङ्क्रमित थपिएका छन् भने २ सय जनाको मृत्यु भएको छ ।
भारतको पश्चिममा पर्ने २ धनी राज्य महाराष्ट्र र गुजरातमा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको छ। ६ सातादेखि लकडाउनमा रहेको भारतमा उक्त प्रावधान केही खुकुलो पारिएको बेला सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो ।
भारतले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्दै पसल र व्यापार व्यवसाय खोल्न अनुमति दिएको छ। घर फर्किन चाहने प्रवासी कामदारलाई विशेष रेलको व्यवस्था गरिदिएको छ।
भारतभर अहिलेसम्म ४६ हजार ४ सयभन्दा बढी मानिस कोभिड १९ बाट सङ्क्रमित भएका छन् भने १५ सय ७१ को मृत्यु भइसकेको छ।
संक्रमितमध्ये १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (बीबीसीको सहयोगमा)




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।