काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोक्न लकडाउनको समय अझै थप गर्ने भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोक्न लकडाउन थप गर्ने निश्कर्ष निकालेको हो ।
समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार संक्रमण रोक्न अहिले अख्तियार गरेको नीतिलाई प्रभावकारी र सशक्त बनाउने छलफल बैठकमा भएको छ । लकडाउन थपबारे निर्णय भने मन्त्रिपरिषद बैठकले थप छलफल गरेर गर्ने उल्लेख गर्दै उहाँले लकडाउनको निरन्तरता भने निश्चित रहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको थियो । बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारेमा अन्तिम निर्णय गर्ने एक मन्त्रीले जानकरी दिनुभयो । लकडाउन बढाउनपर्ने निश्चित देखिएपनि यसको मोडालिटी र समयबारे भने बुधबारको बैठकले मात्रै टुंगो लगाउने उहाँको भनाइ छ ।
सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।