विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक कोरोनामुक्त भएका छन् ।
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जनाले कोरोनालाई जितेका हुन् । अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई बुधबार डिस्चार्ज गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
कोरोनामुक्त भएकाहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनीहरुलाई बुधबार विहान डिस्चार्ज गरिनेछ ।
डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने मन्त्रालयले जनाएको छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिनेछ ।
पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएकोले उनीहरु कोरोनामुक्त देखिएको अस्पतालका मेसु डा. संगिता मिश्राले जानकारी दिनुभयो । अन्य संक्रमितको पनि स्वाब परीक्षण भइहरेको छ । दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिने र पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने उहाँको भनाइ छ ।
विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन् । तीमध्ये १२ जना भारतीय हुन् । उपचारमा रहेका अन्य २ जना झापाका र १ जना भोजपुरका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।