व्यापारीद्वारा बहालकर र ब्याज छुटको माग

विराटनगर । विराटनगरका व्यापारीले लगातारको लकडाउनको कारण आफ्नो व्यवसाय धरासायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विराट व्यापार संघको अगुवाईमा व्यापारीहरुले प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख मदन भुजेल र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

व्यापारीहरुले लकडाउन अवधिभरको तथा लकडाउन समाप्त भएको ३ महिनासम्मको घर बहाल कर, व्यवसायिक कर तथा घरजग्गा करमा छुटको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । जुनसुकै शीर्षकमा लिईएको कर्जाको हकमा शतप्रतिशत ब्याज छुट हुनुपर्ने तथा लकडाउनपश्चात सहुलियत दरमा ब्याज भुक्तानीका लागि ६ महिनाको समयसीमा प्रदान गर्नुपर्ने लगायतका माग राखेको विराट व्यापार संघका महासचिब चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले राजनीतिक नेतृत्व निजामति प्रशासनमाथि निर्भर हुने भएकाले व्यवहारिक निर्णयमा केही समस्याहरु देखापरेको बताउनुभयो । उहाँले व्यापारी वर्गको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको तथा सम्बन्धित बिषयप्रति संघीय सरकारको पनि ध्यानाकर्षण गराउँदै बुँदागत निर्णयबाट समस्या समाधान गर्ने जानकारी दिनुभयो ।

विराट व्यापार संघको ज्ञापनपत्रमा मदिरा व्यवसायी संघ, खुद्रा व्यापार संघ, मोरङ्ग ईलेक्ट्रीक संघ, नेपाल मुद्रण उद्योग संघ, होटल तथा पेय पदार्थ व्यवसायी संघ, नेपाल औषधी व्यावसायी संघ र स्टिल व्यावसायी संघलगायतका १२ वटा व्यापारिक संघसंस्थाहरुले एक्यबद्धता जनाएका थिए ।

सोमबार, २२ बैशाख, २०७७, दिउँसोको ०४:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर