विराटनगर । उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा सहभागी भएपछि उनी सकुशल रहेको स्पष्ट भएको छ ।
करिब डेढ महिना यता कुनैपनि कार्यक्रममा देखा नपरेपछि पश्चिमा सञ्चार माध्यमहरुले गम्भीर बिरामी भएको वा उनको मृत्यु भइसकेको समाचार लेख्दै आएका थिए ।
राष्ट्रपति उन शुक्रबार एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएको तस्बीर सार्वजनिक भएको छ । उनले मल कारखाना रिबन काटेर उद्घाटन गरेको तस्बिर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको हो ।
उन आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै उक्त कार्यक्रममा सहभागी बन्नुभएको थियो । उन सार्वजनिक कार्यक्रममा सहभागी नभएपछि विभिन्न अड्कलबाजी भइरहेका थिए ।
चीनले उनलाई स्वास्थ्य सल्लाह दिन कम्युनिष्ट पार्टीका वरिष्ठ नेताको नेतृत्वमा चिकित्सक टोली पठाएपछि उनी गम्भीर बिरामी भएको अनुमान बलियो बनेको थियो । उन उपचारपछि ठिक भएर सार्वजनिक भएको अनुमान गरिएको छ ।
यसअघि अमेरिकाले किम कोमामा गएको दावी गर्दै आएको थियो । तर, दक्षिण कोरियाले भने किम जोङ्ग उन बिरामी नभएको दावी गर्दै आएको थियो ।
१५ अप्रिलमा हजुरबुवा (उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग) को जन्मदिनको समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारे चासो बढेको थियो । उत्तर कोरियामा किम इल सुङ्गको जन्मदिनमा सबैभन्दा ठूलो समारोह आयोजना गरिन्छ ।
सरकारी मिडियाहरुले १२ अप्रिलमा लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । सोही दिन उनले पार्टीको बैठकको अध्यक्षता गरिरहेको तस्वीर पनि सार्वजनिक भएको थियो ।
अनेक अड्कलबाजीको बीच उनको मुटुको शल्यक्रिया गरेको र गम्भीर बिरामी परेको समाचारहरु सार्वजनिक भएका थिए । कतिपय मिडियाहरुले त गुप्तचर स्रोतलाई उद्धृत गर्दै किम जोङ्ग उनको मृत्यु भइसकेको दाबी गरेका थिए । (बीबीसीको सहयोगमा)