महोत्तरी । चैती (हिउँदे) बाली जारी ‘लकडाउन’ ले राम्ररी थन्क्याउन नपाएका महोत्तरीका किसानमा थप पिरोलो बढेको छ ।
सोमबार रातीको हुरीवतासले बग्रेल्ती फलफूलका चिचिला झारेपछि किसानको पिरोलो थपिएको हो । अहिले एकपछि अर्को दुःख थपिदै जानुले किसान बिलखवन्द परेका छन् । ‘लकडाउन’ भित्र चैतीबाली (गहुँ, जौ, दलहन जस्तै रहरी, मुसुरो, चनाआदि, र तरकारी) जनशक्तिको अभावले थन्क्याउन र बजार पु¥याउन नभ्याई रहेका बेला सोमबार रातीको हुरीवतासले आँप, लिचीसहितका फल बग्रेल्ती झारेपछि किसानको पिरोलो बढेको हो ।
महामारीको असामान्य अवस्थाले कृषि श्रमिक नपाएर चैतीबाली थन्क्याउन नपाएका बेला बगैंचामा बग्रेल्ती आँप र लिचीका चिचिला झर्दा मन अड्याउने ठाउँ नभएको किसानको दुखेसो छ । “मान्छे नपाएर तयार बाली समयमै थन्क्याउन पाइएको छैन, तरकारी टिपेर बजार पु¥याउन नपाउँदा बारीमै बुढिदै छन्”, भङ्गाहा नगरपालिका–४ का किसान सत्यनारायण यादवले लामो सुस्केरा हाल्दै भन्नुभयो, “मधुवा (डढुवा) रोगले आँपका मज्जर (मञ्जरी, फूल) डढाएर सखाप पारेको थियो, अहिले बाँकी रहेका चिचिला पनि हुरीवतासले सखाप पा¥यो ।” हुरीवतासले आँप र लिचीका चिचिला झार्नसँगै लहरे वैशाखी तरकारी (लौका, फर्सी, घिरौंला र झिंङनी) का लहरा हुत्याएर चुडाएको किसानको भनाइ छ ।
जिल्लामा करिब सातहजार हेक्टर क्षेत्रफलमा आँप र लिचीसहितका फल खेतीको बगैंचा छ । यसपाली मज्जरमै मधुवाको प्रकोप र अहिले हुरीवतासले चिचिला झारेपछि आँपको उत्पादन कम हुने चिन्ता किसानमा छाएको छ । उत्पादन कम हुने किसानको चिन्तासँगै आम उपभोक्ताका लागि पनि यसपाली आँप मनग्गे खान नपाइने चिन्ता बढेको छ । उत्पादन कम भएपछि आँपको भाउ आकासिने हुँदा गरिब उपभोक्तामा आँप राम्ररी खान नपाइने चिन्ता बढेको हो ।
जिल्लाका सबै भेगतिर सोमबार मध्यरातपछि चलेको हुरीवतासले फलपूmलमा क्षति पारेसगै मङ्गलबार बिहानभरि मेघ गर्जनसहित परेको पानीले ग्रामिण सडक हिलाम्य भएका छन् । वर्षाले सडक हिलाम्य भएपछि ‘लकडाउन’ भित्रै चोकबजारमा हुँदै आएको जमघट भने पातलिएको छ । पछिल्लो वर्षाले बाँझो खेतबारी खनजोत गर्न भने सहज भएको किसानको भनाइ छ । पछिल्लो हुरीवतासले पराले झुप्राका छाना र कच्ची भित्ता उधिनेपछि गरिब वस्तीमा चिल्लीबिल्ली परेको छ । ‘लकडाउन’ मा घरै बस्न यस्ता गरिबलाई घरमै राहत पु¥याउन सरकारले निर्देश गरेपनि अझै राहत नपाएका गरिब तथा विपन्न वर्गमा हुरीवतासले झन सकस थपेको छ ।
अब घर भत्केका गरिबलाई स्थानीय तहले तत्काल थप राहतको व्यवस्था गरि दिनुपर्ने यहाँ बुद्धिजिवीले सुझाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।