युवराज चौलागाईं
भुईं मान्छेहरुको सुस्केराले नेतृत्वको आसन नडग्मगाओस्
जुनबेला राज्य र नेतृत्वको साथ सहयोग चाहिन्छ, त्यहिबेला देखिइरहेको हाम्रो कृतघ्नताको मूल्य असाध्य हुन्छ । जो चुकाउनै नसकिने हुनसक्छ । राम्रा कामहरुबारे बोल्नै नमिल्नेगरी राज्यहीनता, अविभावकबिहीनता, नेतृत्व बिहीननता सडकमा छचल्कियो। आफ्नै हली गोठाला, ज्यामी, खेताला बाआमालाई बिर्सियौं त हामीले ? यी सड़क मानवहरु हाम्रै ती निकट आफन्तहरु जस्तै त छन् !
लकडाउन बेठिक कसैले भनेन । सरकारको अवज्ञा गर्छु कसैले भनेन । तर, भोको मान्छे रोटी खोज्न घर बाहिर निस्कियो । बेसहारा मजदूर अपनत्व खोज्न सुदूर गाउँ सोझियो । तिनलाई बेवास्ता नगरौं । तिनलाई लात्ती भकुण्डो नगरौं । तिनका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको पैसा निकालेर खर्च गरौं। सहरका चौरहरुमा सामूहिक भोजनालय र सुरक्षित आबास उपलव्ध गराऔं । गाउँ जान चाहनेहरुलाई सुरक्षा मापदण्डसहित प्रहरी र नागरिक संस्थाहरुको भरपर्दो सहयोगमा यातायात मार्फ़त पठाऔं।
३० हज़ार बढीलाई राख्न मिल्ने क्वारेन्टाइन छ भनेको थियो सरकारले, त्यहॉ तिनलाई राखौं । क्याबिनेटबाट बिभिन्न कार्यक्षेत्र तोकेर मन्त्रीहरुको कार्यबिभाजन भएको समाचार आएको थियो। ती क्षेत्रका समस्याबारे मन्त्रीज्यूहरु मौनता सँधेर नबसौं । समाधान गरौं वा बाधा के हो सार्वजनिक गरौं ।
भोको र असुरक्षित जनताले समुहको सोच्नु पर्दैन, आफ्नो सोच्छ । राज्यले व्यक्तिभन्दा फरक समुहको बारेमा सोच्नुपर्छ । समूहभित्रका बिबिधताहरुबारे सोच्नु पर्छ। त्यो उसको दायित्व हो ।
सरकार ! तिमी के सोचिरहेका छौ ? म यति सारो असंवेदनशीलताको मूकसमर्थक बन्न सक्तिन ।
तर, सामान्यतः म सरकारको समर्थक हुँ ।