पथरी । कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले राहत वितरण सम्पन्न गरेको छ ।
नगरपालिकामा बुधबार वडा नम्वर १ मा १ हजार १ सय २८ परिवारलाई राहत वितरण गरिसँगै जम्मा ४ हजार ३ सय ४२ परिवारले राहत पाएका छन् ।
स्वास्थ्य सतर्कताका साथ सामाजिक दुरी कायम गरी साबुनपानीले हात धुन लगाइ सेनिटाइजर लगाइदिएर ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समितिमार्फत राहत वितरण गरिएको हो । यसअघि वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६, ५ मा ५ सय ५९, ६ मा ५ सय ६९, ७ मा १ सय ४७, ८ मा २ सय २२, ९ मा १ सय ८६ र १० मा ५ सय ८२ घर परिवारलाई राहत वितरण गरिएको छ ।
नगरपालिकाले २ जनासम्मको परिवारलाई प्रतिपरिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सबैका लागि प्रतिपरिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण गरेको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको संयोजन तथा समिति सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको हो ।
विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत प्रदान गरेको नगद तथा खाद्यान्न र नगरको विपद व्यवस्थापन कोष अन्तर्गत एकद्वार प्रणालीमा राहत वितरण गरिएको नगर प्रमुख राईले बताउनुभयो । समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।