लकडाउनमा पनि अरुण तेस्रोको काम सुचारु

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम लकडाउनमा पनि नियमित भइरहेको छ ।

यसअघि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको काम नयाँ कामदार नथप्ने समझदारीपछि सुचारु भएको हो।

अरुण तेस्रो आयोजनामा सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समजदारीपछि आयोजनाको काम सुरु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । आयोजनाको काम सुचारु गर्ने सहमतिपछि निर्माण कार्य अघि बढेको हो ।

निर्माणस्थलमा भएका कामदारलाई परिचालन गरेर अरुण तेस्रोले काम सुरु भएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले जानकारी दिनुभयो। आयोजनामा कार्यरत अधिकांश मजदुर बाहिरी जिल्ला र भारतका भएका कारण घर फर्किन सम्भव नभएकाले काम थालिएको आयोजनाले जनाएको छ ।

अरुण तेस्रो आयोजना स्थलमा १ हजार ५ सय कामदार आवासीय रुपमा कार्यरत छन् । आयोजना निर्माणमा ३ हजारभन्दा बढी कामदार रहेपनि कोरोना त्रासले आधा कामदार घर गएको निर्माण कम्पनीले जनाएको छ।

भारतीय निर्माण कम्पनी सतलजले ९ सय सय मेगावटको जलविद्यत् आयोजनाको निर्माणको काम गरिरहेको छ। सरकारले ठूला आयोजनाको काम गर्ने दिने बाटो खोलेपछि क्याम्पमा रहेका कामदारबाट काम सुरु गरिएको सतजल कम्पनीले जनाएको छ।

आयोजनाले उपलब्ध निर्माण सामग्री अनुसारका काम सुरु गर्न कामदार परिचालन गरिसकेको जनाएको छ । अरुण तेस्रोको पावर हाउस दिदिङ र ड्यामसाइडलगायत विभिन्न सुरुङमा ब्लास्टिङको काम सुचारु भएको हो।

मङ्गलबार, २५ चैत, २०७६, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर