कविताः कर्तव्य

मृत्युले आधा शरीर निलिसक्दा पनि
मर्ने डरभन्दा
तिमीलाई गाली गर्ने रहर धेरै लाग्यो !
करोडौं निरीह मनहरूको भरोसा बटुलेर
आस्थाको उचाइमा अडिएका तिमीलाई
सगर उक्लिनुभन्दा
बेइमानीको कलङ्कसँगै
स्खलित हुने रहर धेरै लाग्यो !

यी कुत्सित रहरहरूको खोसाखोसमा
डोरी बनेका निर्दोष मानिसहरू
च्वाट्ट चुँडिए भने
तिमी पल्लो भीरबाट झर्नेछौ
म ओल्लो भीरबाट झर्नेछु
अड्किएछौँ पहरा मै भनेपनि
जीवनको भिख माग्ने नैतिक सामर्थ्य गुमाएर
तिमी पश्चाताप मात्र गर्नेछौ !

म केवल अभिशापले मर्नेछु
अब त सम्झिँदा पनि लाज लाग्छ
हिजोका सामुहिक लडाइँमा
न तिमी तिमी थियौ
न म म थिएँ म
मात्र हामी–हामी थियौँ
तर,
कागजका खोष्टाको मोहनीमा
चुर्लुम्म भएपछि
म तिम्रो विनाशमा लागेँ
तिमी मेरो सर्वनाशमा लाग्यौ
घृणाको पराकाष्ठा
म तिम्रो बर्बादीमा रमाइरहेँ
तिमी घीनलाग्दो आवादीमा रमाइरह्यौ

प्रकृतिको यो निर्मम सङ्केतसँगै
हार्दिक आग्रह छ, तिमीलाई
एकैसाथ छोडौँ
प्रतिशोधपूर्ण अविश्वासका विकृत भूलहरू
एकैसाथ गोडौँ
मानवता र सद्भावका सुन्दर फूलहरू
अझै कति खेल्नु ?
अबोध चेहराको खुसी खोस्ने यी घीनलाग्दा खेलहरू
अझै कति झेल्नु ?
आफ्नै षड्यन्त्रले जन्माएका यी डरलाग्दा झेलहरू
फेरि एक पटक नेपाल आमाको सन्तान भएर
फालौँ
स्वार्थैस्वार्थको लेप लागेका हाम्रा यी विकृति बेमेलहरू !!

आइतबार, २३ चैत, २०७६, रातीको ०९:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर