बजारमा म्याद गुज्रिएका खाद्यवस्तु

उर्लाबारी । मोरङको उर्लाबारीमा म्याद गुज्रिएका खाद्य वस्तु र औषधि छ्याप्छ्याप्ती भेटिएको छ । शुक्रबार उर्लाबारीमा बजार अनुगमन क्रममा उपभोक्तालाई अखाद्य बस्तु बेच्ने गरेको पाइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले तीन वटा पसलमा अनुगमन गरेको थियो । उर्लाबारी–६ को पुनम किराना पसल, न्यू शाक्य मेडिकल सर्भिस र उर्लाबारी–७ को श्रीश्याम स्वीटस्मा अनुगमन गर्दा म्याद सकिएका वस्तु भेटिएको हो ।

पुनम किरानामा म्याद सकिएका सामानहरु बरामद गरिएको छ भने मुल्यसूची र बोर्डसमेत नराखेको पाइएको छ । पहिलो पटक सचेत गराइएको र दोस्रो पटक आउँदा पनि गल्ती सुधार नगरे कार्वाही र जरिवाना गर्ने अनुगमन टोलीले जनाएको छ ।

अनुगमनको क्रममा न्यू शाक्य मेडिकलले सामान खरिद गर्दा स्टमेट बिल राखेको पाइएको छ भने विक्री बिल सुधार गर्न निर्देशन दिएको छ । औषधि स्टोरलाई ब्यवस्थित गर्न पनि भनिएको छ ।

त्यस्तै, श्रीश्याम स्वीटस्को किचन फोहोर रहेको पाइएको छ । किचन सुधार नगरेसम्म किचनको प्रयोग नगर्न निर्देशन दिएको छ । तयारी समान बिक्री पश्चात होटल बन्द गर्न वा सो अवधिमा सुधार गरिसक्न पनि निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोकुल केसीले जानकारी दिनुभयो ।

स्वीटस्बाट पेयपदार्थ, रसबरीलगायत मिति सकिएका सामानहरु बरामद गरी नष्ट गरिएको छ । अनुगमनमा प्रमुख केसीसहित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट काशीनाथ घिमिरे, औषधि विभागबाट दिपेन्द्र खड्का, जिल्ला प्रशासन कार्यालयबाट गोपाल श्रेष्ठलगायतको टोली रहेको थियो ।

यस्तै, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीसहितको टोलीले पनि बजार अनुगमन गरेको छ । प्रभावकारी रुपमा छड्के अनुगमन गर्ने तयारी थालेको उपमेयर भण्डारीले जानकारी दिनुभयो ।

उर्लाबारीका अधिकांश किराना पसलले मूल्य सूची र पसलको बोर्ड राखेका छैनन् भने हार्डवेयर पसलहरुले स्टमेट बील प्रयोग गरी कर छल्दै आएका छन् । होटलको किचन फोहोर हुने गरेको छ ।

आइतबार, ०९ चैत, २०७६, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर