विर्तामोड । बजारमा अभाब भएपछि जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्र मास्क उत्पादन थालेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले आफैं उत्पादन गरेर कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत छन् ।
बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले जिल्लाको सबै प्रहरी युनिटको गेट अगाडि हात धुने व्यवस्था पनि गरिसकेको छ ।