उर्लाबारी । मोरङको उर्लाबारीका विभिन्न क्षेत्रका पीडित चार जनालाई विभिन्न क्षेत्रबाट सहयोग गरिएको छ ।
मिर्गाैला रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५१ बर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारका लागि सहयोग जुटिरहेको छ । बिहीबार पीडित श्रेष्ठको उपचारका लागि उर्लाबारीका युवा ब्यवसायी नुतन राईले ५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभयो । त्यस्तै, उर्लाबारी–५ का जनप्रतिनिधि रविन लामाको नेतृत्वमा ८० हजारभन्दा बढी रकम संकलन भएको छ ।
सुनगाभा बोर्डिङ स्कूल उर्लाबारीका पूर्वशिक्षकसमेत रहनुभएका श्रेष्ठको उपचारका लागि सोही विद्यालयका पूर्व विद्यार्थीहरुबाट रकम संकलन भइरहेको छ । २०६० सालमा भारतको केरेलामा पहिलो पटक प्रत्यारोपण गर्नुभएका श्रेष्ठको पुनः मिर्गाैलामा समस्या आएको छ ।
मिर्गाैला पुनःप्रत्यारोपण गर्न ४० लाख रुपैयाँ खर्च लाग्ने भएपछि श्रेष्ठ सहयोगी हातको खोजीमा हुनुहुन्छ । सामाजिक व्यक्तित्व श्रेष्ठको उपचारका लागि चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ । भारतको केरेला उपचाररत रहनु भएका श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गर्नुभएको छ ।
यसैगरी मोरङको उर्लाबारी–८ आम्बारीका अग्नी पीडितलाई राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले २१ हजार रुपैयाँ सहयोग गरेको छ । अग्नीपीडित तारा लिम्बू र पवित्रा लिम्बूको परिवारलाई तत्काल राहत स्वरुप जनही १० हजार ५ सय रुपैयाँको दर सहयोग गरेको हो ।
संघका मोरङ जिल्ला सदस्य भीष्म बुढाथोकी, दिपक आले मगर, रविन लामा, नगर संयोजक राजिव लिम्बू, सह–संयोजक योगेश बस्नेत, युवा नेता डिल्ली खतिवडालगायतले पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । गत सोमबार साँझ ग्याँस पड्केर आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
यसैबीच नसा रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राईलाई किराँत राई यायोक्खा नगर कार्य समिति उर्लाबारीले सहयोग गरेको छ । किराँत राई यायोक्खा उर्लाबारीबाट ६ हजार र पदाधिकारी एवं सदस्यहरुबाट ४ हजार ५ सय रुपैयाँ गरी १० हजार ५ सय रुपैयाँ प्रदान गरिएको कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो ।