विद्युत काटेको भन्दै संघको आपत्ति

विराटनगर । नेपाल विद्युत प्राधिकरणले दुई उद्योगहरुको विद्युत् लाइन काटेको विषयमा मोरङ व्यापार संघले आपत्ती जनाएको छ ।

बुधबार अपरान्ह प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउँदै संघले हजारौं मजदुरको रोजगारी प्रभावित गर्ने गरी विद्युत लाइन काटेकोमा आपत्ती जनाएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको टोलीले कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात, उत्पादित वस्तुको निर्यात र बजारमा मन्दी आउँदा समग्र आर्थिक क्रियाकलाप प्रभावित भइरहेको बेला उद्योगको लाइन काटेर मजदुरको रोजगारीलाई प्रभावित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा विराटनगर र काकडभिट्टा नाका भएर दैनिक हजारौं मानिसहरुको ओहोरदोहोर भइरहेको र त्यसबाट जोखिम उच्च हुने भन्दै रोकथाम र नियन्त्रणका लागि नाकामा स्वास्थ्य परीक्षणलाई व्यवस्थित र कडाई गर्न पनि संघले माग गरेको छ ।

उद्योग व्यापारको क्षेत्र उच्च जोखिममा पर्दै गएको भन्दै चैत महिनामा भुक्तानी गर्नुपर्ने बैंक ब्याजको अवधि तीन महिना पर सार्न र विद्युत महशुलमा छुटको प्याकेज घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । सरकारको विद्युत् महशुल बृद्धि गर्ने प्रस्ताव अन्यायिक रहेको भन्दै अध्यक्ष मुन्दडाले मुख्यमन्त्रीलाई बैंक व्याजदर, आयकर लगायतमा उचित सहुलियत दिन सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन संघका पूर्वअध्यक्ष महेश जाजू, निर्वतमान अध्यक्ष पवनकुमार सारडा, उपाध्यक्षद्वय विकाश कुमार बेगवानी, अनुपम राठीलगायतको टोली मुख्यमन्त्रीको कार्यालय पुग्नुभएको थियो ।

बिहिबार, ०६ चैत, २०७६, बिहानको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर