विराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा महिलाहरुका लागि कम्प्युटर तालिम सञ्चालन भएको छ ।
पाथीभरा सीप विकास तालिम केन्द्रको संयोजनमा सञ्चालित तालिमको सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले मंगलबार उद्घाटन गर्नुभयो ।
हरेक क्षेत्रमा प्रविधिको आवश्यकता परेकाले महिलाहरुलाई अगाडि बढाउन तालिम सञ्चालन गरिएको तामाङले बताउनुभयो । सिकेको सीपको सही उपयोग गर्न प्रशिक्षार्थीलाई सुझाव दिँदै उहाँले महिलालक्षित तालिमको दुरुपयोग रोक्न सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले कसैले तालिम छोड्नुपर्ने भएमा त्यसको कारणसहित लिखित निवेदन दिनुपर्ने व्यवस्था गर्न उनले सहयोगी संस्थालाई सुझाव दिनुभयो । वडाका सचिव अनिल पोखरेलले निःशुल्क दिइएको तालिममा जनताले तिरेको कर खर्च हुने भएकोले त्यसको महत्व सबैले बुझ्नुपर्ने बताउनुभयो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी, प्रशिक्षक विवेक घिमिरे, सहयोगी संस्थाकी प्रबन्धक कल्पना अर्याललगायतको कार्यक्रममा सहभागिता थियो । तीन महिने तालिममा नगरपालिकाका सबै वडाबाट ४० जना प्रशिक्षार्थी छानेर सहभागी गराइएको छ ।