विराटनगर । मोरङको बेलबारी नगरपालिकको पाचौं नगरसभा दुई वटा ऐन पारित गर्दै सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण सम्बन्धि ऐन पारित गरेको हो ।
नगरसभावाट ऐन पारीत गरेपछि खेलकुद विकास समिाति गठन गर्ने र सार्वजनिक जग्गाहरुको संरक्षण सम्बर्धन वाटो खुलेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । अहिलेसम्म गरिएका कामहरुको समिक्षा गर्दै सभाले विभिन्न क्षेत्रको विकास निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसँग बजेटको मागसमेत गरेको छ ।
मेयर सुवेदीका अनुशार कोल्डस्टोर, आईसिटी सेन्टर, फुटबल स्टेडियम, कृषि क्षेत्रको बिशेष कार्यक्रम, कृषि मार्ग, सामुदायिक भवन, हुलाकी मार्ग, मुल नहर कालोपत्रे, जनमार्ग, पृथ्वीमार्ग, वडा नम्बर ४ र ५ जोड्ने सडक निर्माणका लागि बजेटको ब्यवस्थापन गरिदिन प्रदेश तथा संघीय सरकारसँग नगरसभाले माग गरेको हो । यस्तै नगरसभाले फाहोरमैला ब्यवस्थापन र बिद्युत उत्पादनका लागि लिभ्रा टेक्नोलोजी कम्पनीसँग गरिएको सम्झौतासमेत अनुमोदन गरेको छ ।
केहि दिनअघि मोरङका ६ वटा पालिकाहरुले ३ वटा योजनाको एकैपटक सम्झौता गरेका थिए । त्यस योजनामा बेलबारी, सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले हस्ताक्षर गरेका छन् । सोलार प्यानलको प्रयोगबाट ६ वटा स्थानीय तहले ६० मेघावाट बिजुली उत्पादन गर्ने सम्झौतामा गरेका छन् । एक स्थानीय तहमा १० मेघावाट बिुजुली उत्पादन गर्ने गरी सम्झौता भएको हो ।
सभामा मेयर सुवेदीले जनप्रतिनिधिहरुलाई चौथो नगरसभाले गरेको वैशाख महिनाभित्र विकास निर्माणको काम सक्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।