आरसी कोला बजारमा आउँदै

विराटनगर । आगामी वैशाखबाट अन्तराष्ट्रिय ब्राण्डका ६ प्रकारका कोल्ड ड्रिंक्स नेपाली बजारमा आउने भएको छ ।

अमेरिकी कम्पनी आरसी कोलाका पेय पदार्थलाई विराटनगरका उद्यमीको समूहले नेपाली बजारमा ल्याउन लागेको हो ।

मूल उत्पादक कम्पनी अमेरिकाको जर्जियास्थित रोयल क्राउन कोला इन्टरनेशनल लिमिटेडसँग फ्रेञ्चाइज लिएका सहायक कम्पनीहरुले आरसी कोलालाई ६७ मुलुकमा पु¥याएको बताइएको छ । नेपालमा विराटनगरका उद्धवप्रसाद आचार्य र सुभास आचार्य नेतृत्वको अटोमोबाइलको व्यापारमा सक्रिय दुर्गालक्ष्मी समूहले फ्रेञ्चाइज लिएर आरसी कोला ब्राण्ड नेपाली बजारमा भित्र्याउन लागेको हो ।

आरसी कोलाको उत्पादन गर्न मकवानपुरको मनहरी ६ स्थित सुनाचुरीमा भेन्चुरा बोर्टलर्स प्रालि स्थापना गरिएको छ । समूहका सञ्चालक सुवास आचार्यका अनुसार उद्योग प्रभु बैंकको ८० करोड लगानीमा स्थापना गरिएको हो । उद्योगले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन गर्ने भएको छ ।

उद्योगले एक घण्टामा १२ हजार बोतल उत्पादन गर्नेछ । तत्काल २५० एमएल, ५०० एमएल, एक लिटर र सवा दुइ लिटर गरी चार थरीका बोतलमा उत्पादन गरिने आचार्यले बताउनुभयो । बजारमा रहेका प्रतिष्पर्धीको भन्दा कम मूल्यमा उत्पादन लैजाने तयारीमा कम्पनी छ ।

भेन्चुराले आरसी कोला ब्राण्डमा नै भविष्यमा क्लब सोडा, टोनिक वाटर र ककटेल तथा मकटेल बनाउने पेय पदार्थ पनि उत्पादन गर्ने लक्ष्य राखेको छ । उद्योग पूर्णस्वचालित भएकाले २० जना मात्र कामदार रहने बताइएको छ ।

बिहिबार, २९ फागुन, २०७६, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर