विराटनगर । मोरङको कटहरी ५ भौंडाहाकी एक महिलाको बच्चा जन्माउन नसकेर मृत्यु भयो । करिब एक महिना अघि उनको मृत्यु भएको घटना गाउँमा सामान्य मानियो । किनकी भौंडाहामा यो पहिलो घटना थिएन ।
सानै उमेरमा विवाह गरेकै कारण बच्चा जन्माउन नसकेर अन्य महिलाको मृत्यु भएका घटना छन् । विवाह गर्ने उमेर नपुगी विवाह गरेकी १८ वर्षीया मनिता सरदारको मृत्युको कारण बालविवाह नै रहेको वडाध्यक्ष घनश्वाम सिंहले बताउनुभयो । उनको मृत्युपछि वडाध्यक्ष सिंहले बालविवाहमुक्त अभियानलाई झनै तीव्र बनाउनुभयो ।
बालविवाहमुक्त वडा अभियान झण्डै एक वर्षदेखि चलिरहेकै थियो । तर, बालविवाहकै कारण महिलाको ज्यानै जानेसम्मको घटना भएपछि वडा कार्यालयले अभियानलाई तीव्रता दियो । वालविवाह नियन्त्रण गरिछाड्ने अठोट लिनुभएका वडाध्यक्ष सिंहको अहोरात्र मेहनतपछि फागुन २३ गते बालविवाहमुक्त वडा घोषणा भयो ।
करिव ९० प्रतिशत दलित समुदायको वसोवास रहेको कटहरी ५ भौडाहालाई बालविवाहमुक्त गर्ने कार्य सजिलो थिए । चेतनाको स्तर न्युन भएका कारण बालविवाहले उत्पन्न गर्ने समस्याबारे बुझाउन समय लागेको वडाध्यक्ष सिंहको भनाइ छ । बालबालिका र युवालाई साथ लिएर अभियानमा घर–घर, टोल–टोलमा पुगेपछि गाउँमा कसैको बालविवाह हुन लागेको सूचना तत्काल वडा कार्यालयमा आउने संयन्त्र बन्यो ।
बालक्लव र युवा क्लब सक्रिय भएपछि बालविवाहको संख्या घट्दै गयो । गत आर्थिक वर्षमा ५ वटा बालविवाह वडाले रोकेको थियो । चालु आर्थिक वर्षको फागुन २३ गतेसम्ममा २ वटा बालविवाह रोकेको वडा कार्यालयको तथ्यांकमा उल्लेख छ । गएको ६ महिनायता बालविवाह नभएको वडाध्यक्ष सिंहले बताउनुभयो ।
अबको एक वर्षभित्र बालमैत्री वडा घोषणा गर्ने सिंहको लक्ष्य छ । अभियानमा बालक्लव, युवा, राजनीतिक दल, प्रहरी, स्थानीयवासी सबैको सहयोग रहेको उहाँले बताउनुभयो । बालविवाह रोक्न जाँदा धेरै पटक गाली खाएको सुनाउँदै उहाँले ‘मेरा छोराछोरीको विवाह भएन भने तिमीले गरिदिनुपर्छ’ भन्दै गाली गर्नेहरुलाई विस्तारै सम्झाउन सकेको बताउनुभयो ।
स्थानीय युवा अनिल सरदारले भौडाहालाई बालविवाहमुक्त बनाउन धेरै संघर्ष गर्नुपरेको बताउनुभयो । दिनरात नभनी काम गरेर घोषणा गरेपछि बालक्लव र युवाक्लबको जिम्मेवारी झन् बढेको उहाँको भनाइ छ ।
स्थानीयन विन सरदारले घोषणा गर्दैमा बालविवाह नियन्त्रण नहुने भएकाले अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । वडा कार्यालयले नियमित अनुगमन र जनचेतनाको काम अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ ।
कटहरीलाई बालविवाहमुक्त बनाउने अभियानमा नारी विकास संघ विराटनगरले सहकार्य गरेको छ । मोरङका ५ वटा स्थानीय तहका ८ वटा वडामा बालविवाहमुक्त अभियान सञ्चालनमा रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । यसअघि ग्रामथान १ र २ बालविवाहमुक्त घोषणा भईसकेका छन् ।