बालविवाहमुक्त वडा घोषणा

विराटनगर । मोरङको कटहरी ५ भौडाहा बाल विवाहमुक्त वडा भएको छ । कटहरी गाउँपालिकाका ७ वटा वडामध्ये कटहरी ५ पहिलो बालविवाह मुक्त वडा बनेको हो ।

प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले शुक्रबार बाल विवाहमुक्त वडा घोषणा गर्नुभएको हो ।

वडामा बालविवाह विरुद्धको अभियान सञ्चालन गरेपछि बालविवाहको संख्या घटेको वडाध्यक्ष घनश्याम सिंहले बताउनुभयो । वडामा २०७५ मा ५ वटा बाल विवाह भएको २०७६ मा २ वटा मात्रै भएको तथ्यांक छ । विगत ६ महिनादेखि एउटा पनि बालविवाह नभएको उहाँले बताउनुभयो ।

कटहरी ५ बालविवाह मुक्त हुने मोरङको तेश्रो वडा भएको छ । यसअघि ग्रामथान १ र २ बालविवाह मुक्त भएका थिए । बालविवाहमुक्त भएको ग्रामथान १ बालमैत्री वडा घोषित भईसकेको छ ।

मोरङको कटहरी ५ र ६, ग्रामथान १ र २, बुढीगंगा ६ र ७, सुन्दरहरैचा १ र विराटनगर १९ मा स्थानीय तहसँगको समन्वयमा वल्र्डभिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले बालविवाह विरुद्धको अभियान सञ्चालन गरेका छन् । अभियान सञ्चालन भएपछि बाल विवाहको संख्या घट्दै गएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।

शनिबार, २४ फागुन, २०७६, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर