लोड हुँदैछ...

मेनु

सक्कली आमाको ‘रोल’मा उत्रिउन्

सक्कली आमाको ‘रोल’मा उत्रिउन्

नेपाली काँग्रेसमा यति बेला पार्टीको केन्द्रीय सभापति को होला भन्ने चर्चाले बजार पाएको छ । आगामी वर्षको फागुन महिनामा हुने पार्टीको महाधिवेशनमा तत्कालका लागि सभापतिका प्रत्याशी धेरै देखिएका छन् । तर, चुनावी परिणाम कसका पोल्टामा पर्ने हो भन्ने अड्कल महत्त्वपूर्ण छ ।

वर्तमान सभापति शेरबहादुर देउवाले पार्टी हाँक्ता काँग्रेसको अवस्था कहाँबाट कहाँ आइपुगेको छ भन्ने तथ्य घामजत्तिकै छर्लङ्ग छ । देउवा आफैँ नेतृत्वमा भएका बेला काँग्रेस कार्यकर्ताले माओवादी पृष्ठभूमिका कम्युनिष्ट उम्मेदवारलाई भोट हाल्नुप¥यो । सम्भवतः काँग्रेसजनका लागि योभन्दा पीडादायी क्षण अर्को थिएन । अर्कातिर केपी ओलीको सरकार बनेपछि देशमा भ्रष्टाचार शिखरमा पुगेको छ, सरकार तानाशाहीतिर लम्किएको छ र दण्डहीनता मौलाएको अवस्था छ । यस्तो अवस्थामा काँग्रेस नेतृत्व र विशेष गरेर शेरबहादुर देउवा ‘मौनम् सम्मति लक्षणम्’ को मुद्रामा ध्यानस्थ छन् ।

सभापति देउवाले वाइडबडीदेखि ललिता निवास प्रकरणसम्म प्रतिपक्षको भूमिका अनुसार खरो स्वभाव देखाउन सकेनन् । यस विषयले काँग्रेस कमजोर त भएको छ नै काँग्रेस कार्यकर्ताको मनोबल पनि खस्किएको अवस्था छ । निश्चय पनि पार्टी कमजोर हुनुभन्दा त्यसका कार्यकर्ताको मनोबल खस्कनु बढी हानिकारक हुन्छ र अहिले भएको त्यही छ ।

मूलतः अबको काँग्रेसको सभापति को भन्दा पनि अबको काँग्रेस कस्तो भन्ने विषय अहम् हो । कुनै पत्थर या काठको खम्बालाई सभापतिका रूपमा उभ्याइदियो भने पनि काँग्रेस नचल्ने होइन । तर, अबको काङ्ग्रेस त्यसरी चलेर पुग्दैन, जसरी चलिरहेको छ । साउन ६ गते, भदौ २४ गते र पुस १६ गते एउटा कार्यक्रम गरेर मात्र अबको काँग्रेस चल्नु हुँदैन । अबको काँग्रेसले तानाशाहीतिर लम्कँदै गरेको वर्तमान सरकारलाई लगाम लगाएर लोकतान्त्रिक मार्गतिर घिच्याउनुपर्नेछ भने आगामी आम निर्वाचनमा बहुमत ल्याएर एकमना सरकार पनि बनाउन सक्नुपर्नेछ । आगामी निर्वाचनमा पनि काँग्रेसले एकमना सरकार बनाउन सकेन भने मुलुक कम्युनिष्टकरण र एकदलीय तानाशाहीको दलदलमा भासिनेछ ।

त्यसैले अबको काँग्रेसको पार्टी सभापति भनेको पार्टी चलाउन सक्ने होइन मुलुकलाई हाँक्नसक्ने भिजनरी नेताका रूपमा उदाउनु जरुरी छ । यस्तो क्षमता तथा नैतिक गुण अहिलेका सभापति देउवाले गुमाइसकेका छन् । सशक्त र प्रखर प्रतिपक्षको भूमिकामा देउवा विफल भइसकेका छन् । यिनै देउवाको नेतृत्वले भोलिको निर्वाचन जिताउला र काँग्रेसलाई सत्तारूढ गराउला भनेर सोच्नु दिवास्वप्न मात्र हुनेछ ।

आगामी महाधिवेशनमा निश्चय पनि सभापति देउवा फेरि सोही पदका दाबेदार हुनेछन् । तर, सँगसँगै अर्को कहालीलाग्दो तथ्य के छ भने सभापति देउवाका विकल्पमा देखिएकाहरू एकमत भएर जाने अवस्था आउँछ कि आउँदैन भन्ने प्रश्नले काँग्रेसजनहरू चिन्तित छन् । देउवाको विकल्पमा सदावहार रामचन्द्रदेखि कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र रामशरण महत एउटै कित्तामा उभिन नसकेसम्म पार्टीमा उज्यालो भविष्यको किरणले प्रवेश पाउने छैन ।

पार्टीभित्र संस्थापनसित असहमत राख्तै आएका नेताहरूको रौँचिरा विश्लेषण गर्ने हो भने डाक्टर शेखर अब्बल प्रमाणित हुनेछन् । पार्टी बोल्न नसकेका विषयमा केन्द्रीय सदस्यका हैसियतमा शेखर बोलिरहेका हुन्छन् र काँग्रेसको लाज बचाइरहेका हुन्छन् । विगतको आम निर्वाचनको पूर्वसन्ध्यामा शेखरले दुई कम्युनिष्ट पार्टीको मिलनलाई अधिनायकवादमा जाने खतरा भन्ने प्रतिक्रिया दिएका थिए । नभन्दै ओली सरकारका क्रियाकलाप अहिले अधिनायकवाद र तानाशाहीउन्मुख देखिइरहेका छन् । भ्रष्टाचारका पछिल्ला प्रकरणमा पनि हाकाहाकी प्रधानमन्त्री ओलीको राजिनामा मागेर शेखरले साहसी नेताका रूपमा आफूलाई उभ्याएका छन् ।
शेखरको सबैभन्दा सबल पक्ष हो, उनी पोखरीझैँ एकै ठाउँ जमेर रहँदैनन् । बरु नदीझैँ गतिशील भएर जिल्ला दौडिरहन्छन् । यही स्वभाव पञ्चायतकालमा तत्कालीन काँग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालाको थियो । गिरिजा पनि कहिल्यै काठमाडौं र विराटनगरमा एउटा सानो झुन्ड बनाएर बसेनन् । गिरिजाको जीवनभरिको सफलताको द्योतक त्यही क्रियाशीलता थियो ।

तर, नेपाली राजनीति भनेजस्तो सजिलो अवश्य छैन । काँग्रेस सभापति हुन शेखरले आफ्नो गुणवत्ता प्रमाणित गरिसकेका छन् । सिनियर र जुनियरको लफडामा भने पक्कै पनि उनले चूप लाग्नुपर्नेछ । हो, आजको अहम् प्रश्न पनि यहीँनिर छ । काँग्रेसलाई आज सक्षम, योग्य र भिजनरी नेता चाहिएको हो कि सिनियर भनिने तर अक्षम व्यक्तित्वको आवश्यकता परेको हो ?

आगामी महाधिवेशनमा सबैभन्दा ठूलो निर्णयक भूमिका डाक्टर शशाङ्कको हुनेछ । शशाङ्क र शेखर पक्कै पनि उही पदका प्रत्याशी भए भने काङ्ग्रेस ‘पुनर्मुषिको भव’को अवस्थामा पुग्नेछ । तर, सक्रियता र लोकप्रियतालाई आधार मान्दै शशाङ्कले शेखरलाई समर्थन दिए भने सबैभन्दा उचित र उपयुक्त निर्णय हुनेछ ।
एउटै बालकलाई २ महिलाले म आमा हुँ भनेर अदालतसमक्ष दाबी गर्दा न्यायाधीशले बच्चा चिरेर २ भाग लगाउने आदेश दिएका थिए रे । त्यसबखत बच्चाकी सक्कली आमाले ‘भो बच्चा नकाटौँ बरु उनैले पालून्’ भनेर त्याग गरेकी थिइन् रे । आज शशाङ्कले तिनै सक्कली आमा बन्नुपर्ने स्थिति छ किनकि उनले ‘बच्चा’ पाल्न सक्तैनन् भन्ने सिद्ध भइसकेको छ । काँग्रेस शशाङ्कका युगनायक पिता विश्वेश्वरले बनाएको पार्टी हो । अतः यस पार्टीको सबैभन्दा बढी माया शशाङ्कलाई नै लाग्नुपर्छ र डाक्टर शशाङ्कले तिनै सक्कली आमाको ‘रोल’मा उत्रन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।