इटहरी । लामो रस्साकस्सीपछि सुनसरीको इटहरी उपमहानगरपालिकाभित्र पनि कोशी राजमार्गलाई ५० मिटर चौडा बनाउने सहमति भएको छ ।
सडकको केन्द्रबाट दायाँ÷बायाँ २५–२५ मिटर चौडा बनाउनेगरी सीमा खाली गराउने निर्णय सर्बपक्षीय बैठकबाट भएको हो ।
विराटनगर–इटहरी धरान सडक योजनाअन्तर्गत कोशी राजमार्गको घोषित सीमा कायम गर्ने विषयमा इटहरी उपमहानगरपालिका, सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । इटहरीका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, रानी–विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मासहितको बैठकले सडकको क्षेत्राधिकार मापदण्ड अनुसार नै कायम गर्ने निर्णय गरेको हो ।
बैठकले अब सडक सिमामा पर्ने घरटहरा भत्काउन अन्तिम पटक १५ दिने म्याद दिइ सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत गरेको छ । तोकिएको म्यादभित्र डिपिआर अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको क्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिकालगायतका संस्थाले हटाउने सहमति भएको छ ।
सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरिएको हो । सडक मापदण्ड अनुसार खाली गराउन केही समययता स्थानीय घरधनीले अबरोध गर्दै आएका थिए । उपमहानगरले पनि मापदण्ड अनुसार सडक निर्माणमा चासो नदिएको भन्दै मदन चुँडालको नेतृत्वमा युवाहरुले संगठित भएर दबाब दिँदै आएका थिए ।
कोशी राजमार्गमा पर्ने घरका घरधनीहरु तथा उद्योगी व्यवशायीहरु सडक विस्तार गर्न नहुने पक्षमा थिए । उनीहरुकै दबाबमा सडक आयोजना कार्यालयले सडक खुम्च्याएर विस्तार गरेको थियो । पछिल्लो बैठकको निर्णयसँगै इटहरी चोकका घरहरु भने भत्किने भएका छन् ।
दुहबीको लफडा अन्त्य भएन
इटहरीका युवाहरुको संघर्षले इटहरीमा ५० मिटर सडक चौडा बनाउने निर्णय भएपनि दुहबीको समस्या भने समाधान भएको छैन । दुहबी बजार क्षेत्रमा अधिकांश घरधनीहरु तथा व्यवसायीहरु चलनचल्ती अनुसारको मुआब्जा दिए मात्र खाली गर्ने भन्दै सडक विस्तारमा अबरोध गरिरहेका छन् ।
दुहवी नगरपालिकामा मन्त्रीस्तरीय निर्णयबाट सडकको राइट अफ वे घटाइएको छ । ६३० मिटर क्षेत्रको राइट अफ वे २०५४ साल चैत ३ गते राजपत्र जारी गरेर मध्यविन्दूबाट २७÷२७ फिट दायाँबाँया कायम गरियो । तत्कालिन मन्त्री विजयकुमार गच्छदारको पहलमा सडकको क्षेत्र घटाइएकोले अहिले समस्या भएको हो । २०४८ साल वैशाख १३ गते राजत्रपको सूचनाले विराटनगर बजार क्षेत्रको सडकको ‘राइट अफ वे’ घटाएर मध्यविन्दुबाट १५÷१५ मिटर दायाँबायाँ बनाइएको थियो ।
विवादका कारण ६ लेनको महत्वपूर्ण सडकको मापदण्ड फरक–फरक बनाइएको छ । कतै ८२ फिट बनाइएको छ भने कतै ६५ र कतै ५५ फिटमा झारेर काम भइरहेको छ ।