माननीय उद्घाटन मन्त्रीज्यू,
आराम रहि आरामकै कामना गर्दछु । तपाई उद्घाटन मन्त्री भएको दुई वर्ष पुगेको सुखद अवसरमा खुशी व्यक्त गर्न चाहन्छु ।
विहानदेखि बेलुकासम्म तपाईले उद्घाटनको लागि देखाएको मोहले मेरो मन फुरुङ्ग भएको छ । कहिलेकाँही चियापसल, कहिलेकाँही स–साना स्कूलमा उद्घाटनसँगै बालबालिकाकाबीच नाचेको देख्दा समाजवादतर्फ मुलुक अगाडि बढेछ भन्ने अनुभूति पनि भइरहेको छ । हुन त उद्घाटन मन्त्री हुनुभन्दा अगाडि तपाई हाम्रा कुरा सुन्नुहुन्थ्यो र त्यसलाई लागू गर्नुपर्छ भनेर होस्टेमा हैसे पनि गर्नुहुन्थ्यो । हिजोआज उद्घाटनले गर्दा फुर्सद नभएर होला हाम्रा कुरा तपाईलाई विरानो लाग्न थालेको छ । यसो केहि कुरा गरौं भन्यो भनेपनि तपाईलाई फुर्सद छैन । राम्रा सुझाव दिँदा ‘यो त बिग्रिएछ । अर्को गुटतिर गएछ’ भने झैं गर्नथालेको तपाईका आसेपासेबाट सुन्दा कतिपय कार्यकर्ता निराश छन् ।
सुझाब नलिए पनि आखिर उद्घाटन त गरिरहनुभएको छ नि ! अगाडि खाली कुर्सी हुन् या चिया पसलका टेबल हुन् । भाषणबाटै तपाईले गर्नुभएको उद्घाटन साँच्चै लोभलाग्दो छ । हुन त स–साना उद्घाटनको कुरा गर्दा साम्यवादी र कम्युनिष्टहरुले यस्तै काम गर्ने हो । ठूलाको मात्र गर्ने हो र ? भन्नेहरु पनि धेरै छन् । त्यसैले पनि तपाईको उद्घाटनको मोह लोभ लाग्दैछ । हुनत तपाईलाई तोकिएकै उद्घाटन मन्त्री हो भन्ने सुनेको छु । कार्यकर्तालाई पनि विकासको कामभन्दा पनि आफ्नो कार्यक्रममा आएर नेताले बोलिदिउन् भन्ने नै छ । त्यसैले होला उद्घाटन मन्त्री चाहिएको हो ।
समृद्धिको यात्रामा सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा कार्यान्वयनमा तपाईको मन्त्रालय उद्घाटन विकास मन्त्रालयमा परिणत गर्नुपर्ने आवश्यकता पनि जनताले महशुस गर्न थालेका छन् । तपाई उद्घाटनमा जाँदा तपाईको मन्त्रालय सुनसान मात्र होइन, चिसो एसीले भरिएको हुन्छ । भित्र लेखिएको बोर्डमात्र देख्दा गिज्याइरहेको महसुस हुन थालेको छ ।
माननीय उद्घाटन मन्त्रीज्यू,
तपाईले संघीयतालाई बलियो बनाउने नाममा संघीय सरकारका योजनालाई धमाधम बजेट थप्ने र किनमेलमै ब्यस्त हुने गरेको पनि गुनासो सुनिन थालेको छ । तपाईका सचिवालयलाई कतिपयले हुकुमी शैलीको भनेर कमेन्ट गर्न थालिसकेका छन् । कहिलेकँही यतातिर पनि ध्यान जानु जरुरी भइसकेको छ । एउटा मात्रको कोटरीबाट माथि उठ्दै उद्घाटन विकास मन्त्रालयमा परिणत गर्दै अगाडि बढ्नुभयो भने अर्को पटक तपाईको भविष्य त सुन्दर नै छ । तपाईको उद्घाटन मन्त्रालयमा गएका बजेट गाउँ पुग्दा कुन उपभोक्ता समिति र कसको उपभोक्ता समितिमा गयो र के–के भइरहेको छ, याद गर्नुभएको छ ? एकछिन् उद्घाटनलाई छोडेर अब अनुगमनतर्फ पनि ध्यान दिने कि ?
माननीय उद्घाटन मन्त्रीज्यू,
मलाई थाहा छ, तपाईलाई यो चिठ्ठी लेखेपछि तपाई अलिकति रिसाउनु होला । तर, पनि तपाईले जति काम थाल्नुभएको छ, त्यसको समिक्षा गर्दै युद्धस्तरमा लाग्नुहोस् । कहाँ जाने, को–को जाने ध्यान दिनैपर्ने भयो । ब्यापारीको कार्यक्रम भन्ने बित्तिकै आफ्नो भूमिका बिर्सेर मञ्चमा ठाउँ भएपनि नभएपनि जानै पर्ने । कार्यक्रमलाई छोड्नै नहुने ? कार्यक्रममा को–को आउँछन् ? त्यसको आउटपुट के हो ? भन्ने कुरा बुझेर उद्घाटनतिर लाग्नुभयो भने राम्रै होला । कहिलेकाँही आफूभन्दा सिनियर र नेतृत्वकर्ता भएकै ठाउँमा ढिलो जाने अनि छिटो उठेर अर्को उद्घाटनतिर लाग्ने, सरकारी कार्यक्रममा प्रमुख व्यक्ति उठेर अभिबादन गर्दा कुर्सीमै बसेर ताली बजाउँदै हेरेको पनि असुहाउदिलो देखिएको कुरा मैले सुनिरहेको छु । त्यसो हुनाले उद्घाटनमन्त्री भएसँगै तपाईका स्वभाव, पोशाक र बसाई पनि महत्वपूर्ण हुन्छ ।
माननीय उद्घाटन मन्त्रीज्यू,
तपाईलाई यति लेखिरहँदा अब वामे सरेर हिँड्न थालेको उद्घाटन मन्त्रालय समृद्धिको यात्रामा जानसक्छ । तपाईले थोरै मात्र ध्यान दिनुभयो भने तपाईको प्रशंसा हुन थाल्नेछ । त्यसैले ढिलो नगर्नुस्, उद्घाटन मन्त्रालयलाई अनुगमन र विकास मन्त्रालयमा रुपान्तरण गर्नुस् । दुई वर्षको शुभकामना ।