सात वर्षमा पुल नबनेपछि मुख्यमन्त्री कार्यालयमा धर्ना

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ बेलाचौरीस्थित तुर्के खोलाको पुल निर्माण भएको ७ वर्षमा ठेकेदार भागेपछि अलपत्र बनेको छ ।

केराबारीबाट धनकुटा जिल्ला जोड्ने पुल बनाउन संघीय सरकारले ५ करोड ५५ लाख रूपैयाँमा ठेक्का लगाएर २०६९ सालमा निर्माण थालेकोमा ठेकेदार सम्पर्कविहिन भएपछि काम नै रोकिएको केराबारी गाउँपालिकाले जनाएको छ ।

ठेक्दार कम्पनी काम छाडेर सम्र्पकविहीन भएपछि केराबारी गाउँपालिका स्थानीय बिहीबार तीन वटा बस रिजर्भ गरेर विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन आइपुगे । ठूलो संख्यामा आएका स्थानीयले करिब एक घण्टा धर्ना बसेर पुल निर्माणको काम सुरु गर्ने वातावरण बनाउन मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउन खोजेपनि उहाँसँग भेट नभएपछि कार्यालयमा बुझाए ।

करिब ३ हजार घरपरिवारले ओहोरदोहर गर्ने पुल निर्माण नहुँदा समस्या भएको केराबारी ९ का वडाअध्यक्ष भूपतिन्द्र प्रताप मल्लले जानकारी दिनुभयो । निलगिरी कन्ट्रक्सनले पुलको निर्माणको जिम्मा लिएकोमा ठेकेदार युवराज डाँगी अहिले सम्र्पकबिहीन भएको उहाँको भनाइ छ ।

स्थानीय सडक डिभिजन कार्यालयमा पुल निर्माणले गति नलिएको गुनासो लिएर पुग्दा सुनवाई नभएपछि मुख्यमन्त्री कार्यालयमा आएको केराबारी – ९ का रबिन सापकोटाले बताउनुभयो । कार्यालयले एउटा कारण देखाउने र निर्माण व्यावसायीहरूले अर्को कारण देखाई पुल निर्माणमा ढिलाई गरेको स्थानीयको भनाइ छ ।
धनकुटा जिल्लाको उत्तरमा पर्ने भुगोल जोड्ने पुल निर्माण सम्पन्न हुन नसक्दा वर्षायाममा केराबारीका गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ । पुल नबन्दा अध्ययन गर्न बेलबारी आउने विद्यार्थी समस्यामा पर्ने गरेका छन् ।

पुल निर्माण भए धनकुटा, बेलबारी र लेटाङ्गसम्म सडक जोडिन्छ । ठेकेदारलाई स्थानीयले पटक–पटक दबाब दिएपनि चासो नदेखाएको स्थानीय बताउँछन् । पुल डिभिजन कार्यालय इटहरीका पूर्व इन्जिनियर कैलाश साहले पुल निर्माण समयमा हुन नसक्नु र अहिले काम अलपत्र छाडिनुमा ठेकेदार कम्पनीको लापरबाही रहेको बताउनुभयो ।

सो क्षेत्रका प्रदेश सांसद उपेन्द्र घिमिरेले आगामी सोमबारबाट पुल निर्माणको काम सुचारु गर्ने गरी पहल थाल्ने बताउनुभएको छ । उहाँले पुल निर्माण स्थलमा मुख्यमन्त्री राईलाई पनि भ्रमण गराउने प्रतिवद्धता जनाएको स्थानीयले बताएका छन् ।

शुक्रबार, १६ फागुन, २०७६, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर