इटहरी । पछिल्लो १० वर्षयता विकास र शहरीकरणमा फड्को मारेको सुनसरीको इटहरी अव्यवस्थित बन्न थालेको छ । कुनै समय जंगलभित्रको हरियाली र हरितनगरीको उपनाम पाएको इटहरी तारैतारले गुजुल्टिएको सहरको रूपमा परिचित बन्ने अवस्था बनेको छ ।
बिजुलीको पोलहरूमा झुण्डिएको तारले इटहरीको स्वरूपसँगै वातावरणमा समेत नकरात्मक असर परिरहेको छ । निर्वाचनको बेला दलहरुले इटहरीलाइ स्मार्ट सिटिको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएपनि अहिले अव्यवस्थित तारको व्यवस्थापन पनि गर्न सकेको अवस्था छैन ।
केवल सञ्चालक तथा इन्टरनेट व्यवसायीहरूले तारहरूको व्यवस्थापन नगर्दा शहर नै कुरुप बनेको छ । इटहरी उपमहानगरले पटक–पटक सो तारहरू व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई पत्रचार गरेपनि उनीहरुले वास्ता गरेका छैनन् ।
नाङ्गो तारहरूका कारण इटहरीमा सानातिना आगलागीका घटनाहरू पनि भइरहेका छन् । एउटै पोलमा क्षमताभन्दा बीि तारहरू झुण्डाइनाले टेलिफोन बिस्तारमा समेत समस्या आइरहेको टेलिकमले जनाएको छ । अहिले इटहरी क्षेत्रमा आधा दर्जन भन्दा बढी केवल कम्पनीहरू र एक दर्जनको हाराहारीमा इन्टरनेट कम्पनीहरूले तार फैलाएका छन् ।
विद्युत प्राधिकरणदेखि टेलिफोन, भएभरका केवल र इन्टरनेटका तारहरूको कारण ६ लेन सडक विस्तारमा पनि अबरोध भइरहेको छ । तारकै कारण बेलैमा विद्युत पोल सार्न समस्या भएको हो । इटहरीमा अहिले सुविसु, वल्र्डलिंक, क्लासिक टेक, वाइम्याक्स, वेभसर्भरलगायत आधा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा छन् भने पशुपति केवल, सुनसरी केवल, सिम टिभी, डिस होमलगायतका केवलहरू सञ्चालनमा छन् ।
इटहरी उपमहानगरपालिकाका उपमेयर लक्षमी गौतमले तार व्यवस्थापनको लागि सम्बन्धित पक्षसँग उपमहानगरले पहल गरिरहेको बताउनुभयो । विद्युत प्राधिकरण इटहरीका कार्यालय प्रमुख मिथिलेसकुमार गोहिबारले विद्युतका पोलहरूमा टाँगिएका तारका कारण सहर कुरूप बनेको स्वीकार गर्दै सबै तारलाई जमिनमुनिबाट लैजाने योजना बनाएपनि कार्यानवयन नभएको उहाँको भनाइ छ ।