पथरी । सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोसी ठहर भएका एक व्यक्तिलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।
युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे–१० (साविकको शनिश्चरे गाविस–१) का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका हुन् ।
घटनापछि फरार रहेका उनीविरुद्ध तत्कालीन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो । विश्वकर्मासहित पथरीशनिश्चरे–१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा २ दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए । पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।
घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनैजना फरार थिए । उनीहरूविरुद्ध पुनरावेदन अदालत विराटनगरले १० वैशाख २०७१ मा जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
२०६९ पुसमा जिल्ला अदालत मोरङले भने सफाइ दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जनाविरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरू पक्राउ परेका थिएनन् । विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार छन् । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएपछि उनी कारागार चलान भएका छन् ।