व्यवस्थापनमा नविन अनुभव गरें


एक अर्बको कारोबार गर्दै शनिबार विराट एक्स्पो समापन भएको छ । विराट एक्स्पोको संयोजक भोलेश्वर दुलाल हुनुहुन्थ्यो । सोचेभन्दा बढीले मेला अवलोकन गरिएको छ । प्रस्तुत छ, एक्स्पो संयोजक दुलालसँग गरिएको कुराकानी ः

विराट एक्स्पो कस्तो रहयो ?
– ९ दिनसम्म सञ्चालन भएको विराट एक्स्पो सोेचेभन्दा राम्रो भएको छ । एक्स्पो अवलोकनमा हामीले सोचेभन्दा राम्रो सहभागिता देखियो । संघीय सरकारको अर्थमन्त्री डा.युवराज खतिवडाले एक्स्पो उद्घाटन गर्नुभयो । एक्स्पो ३ लाखले अवलोकन गर्ने अनुमान गरेका थियौं तर त्योभन्दा पनि धेरैले अवलोकन गरेका छन् । एक अर्बभन्दा धेरै आर्थिक कारोबार भएको छ । समग्रमा अपेक्षा गरेभन्दा भव्य र सभ्य तरिकाले एक्स्पो सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले समापन गर्नुभयो र समापन समारोह पनि उत्कृष्ट रह्यो ।

विगत वर्षभन्दा यो पटकको फरक अनुभूति के रह्यो ?
– विगतभन्दा यसपटक निकै भिन्न अनुभूतिहरु भए । यसपटक व्यवस्थित र भव्य तरिकाले एक्स्पो समापन भयो । मेलामा सहभागी उपोक्ताहरूको भिडले हामीलाई एउटा व्यवस्थित प्रदर्शनीस्थल आवश्यक भएको महशुस भएको छ । हामी निर्माणको तयारीमा पनि छौं । प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शनीस्थल निर्माण गर्छौं । तीनै तहका सरकारहरुको सहयोग र समन्वयमा प्रदर्शनीस्थल बन्ने विश्वास गरेका छौं । यसपटकको एक्स्पो वृहत भएको छ । ४ सय ६५ वटा स्टल एकै ठाउँमा राखेर सञ्चालन गरेको एक्स्पो वास्तवमै ऐतिहासिक रह्यो र यसलाई हामी निरन्तरता दिनेछौं ।

प्रदर्शनीबाट उपभोक्ताहरुलाई के फाइदा पुग्यो ?
– उद्योगले उत्पादन गरेको सामाग्री उपभोक्ताले यस्ता प्रदर्शनीहरुमा सहज रुपमा भेटाउछन् । यो उपभोक्ता र उत्पादकको संगमस्थल पनि हो । एक्स्पो उद्योगीहरूको लागि पनि महत्वपूर्ण हुन्छ । विभिन्न वस्तुहरू एकै स्थानमा पाइन्छ । एक्स्पोले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याउने गर्दछ । कृषि र औद्योगिक उत्पादनको मार्केटिङका लागि एक्स्पो महत्पूर्ण गन्तव्य पनि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाका विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिहरूको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका छुट्टाछुट्टै प्रदर्शनी एक्स्पोको मुख्य विशेषता हुन्छन् । त्यसैले यस प्रकारको मेलाहरुबाट उपभोक्ता र उद्योगी वा उत्पादक सबैलाई उतिकै लाभदायक हुन्छ ।

शनिबार, १० फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर