विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, आठराइ गाउँपालिका आउनुहुने भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन प्रधानमन्त्रीको ओली हेलिकोप्टरमार्फत् आठराइ आउन लाग्नुभएको हो ।
जन्मदिनको सन्दर्भ पारेर तेह्रथुमको सल्ले आएर प्रधानमन्त्रीले आफ्नो पुख्र्यौली सम्पत्तीलाई ट्रष्मा लैजाने घोषणा गर्नुहुने बताइएको छ । उहाँको आगमनको लागि पुख्र्यौली घर रहेको स्थानमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने ओलीको इच्छा रहेको बताइएको छ ।
साविक आठराइ गाविसमा जन्मनुभएका ओलीको परिवार झापा बसाइ सरेपछि २०२४ सालमै बाबु मोहनप्रसाद ओलीले ११ हजार रुपैयाँमा घरजग्गा बेच्नुभएको थियो । सो सम्पत्ती ओलीले पछि १० लाख रुपैयाँमा खरिद गरेको बताइएको छ । प्रधानमन्त्रीले तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ) जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।