काठमाडौं / सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभएको छ ।
बिहीबारको संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा मागेपछि बाँस्कोटाले राजीनामा दिएको जानकारी सभामुख अग्नि सापकोटाले दिनुभएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत पटक–पटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ । काँग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताउनुभएपनि संसद सुचारु हुन सकेन ।
यसैबीच मन्त्री बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयले राजीनामा स्वीकृत गर्दै उहाँले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ ।
राजीनामा दिएपछि बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि व्यक्तिका कारण आन्दोलन गर्नुपर्ने र संसद घेर्नुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ । आफ्नो कारणले संसद नघेरियोस् र आन्दोलन नहोस् भनेर आफूले राजीनामा दिएको उहाँको भनाइ छ ।