काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले थालेको अभियानको कारण चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ ।
चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरी प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भई काम गरिरहेको छ । गत आवमा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो ६ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा झारिएको हो ।
आर्थिक वर्ष २०७२÷७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई गत आव २०७५÷७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य छ ।
चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरण संचालक समितिका अध्यक्ष एवं उर्जामन्त्री वर्षमान पुनले चुहावट नियन्त्रण, संस्थाभित्रको वित्तीय तथा प्रशासनिक बेथिति नियन्त्रण र सेवा प्रवाह सुधारमा जोड दिएपछि प्राधिकरणले पनि सफलता प्राप्त गरेको हो ।
प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका १ सय २९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । चुहावट नियन्त्रण र सेवा प्रवाहका लागि दिइएका लक्ष्य पूरा गरेमा प्रोत्साहन दिने सम्झौताको व्यवस्थाले सकारात्मक प्रभाब पारेको प्राधिकरणको बुझाई छ ।
प्रदेश नं १को प्रादेशिक कार्यालय विराटनगरले गत आवमा ११.८४ प्रतिशत रहेको विद्युत् चुहावट चालु आवको ६ महिनामा ९.८८ प्रतिशतमा झारेको छ । कार्यालयलाई विद्युत् चुहावट ८.८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत २४ वितरण केन्द्रहरु छन् ।