बद्रीनारायण सरदार
प्रदेश नं. १ को राजधानी विराटनगर महानगरपालिकाभित्रका १९ वटामध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो वडा हो १९ नम्बर । वडाले उत्तरमा ग्रामथान गाउँपालिका, पुर्व र दक्षिणमा कटहरी गाउँपालिका तथा पश्चिममा झण्डै बुढीगंगा गाउँपालिकाकोे सीमालाई छोएको छ । उत्तरपूर्वमा रहेको यो वडाका अध्यक्ष बद्रीनारायण सरदार हुन् । विकास र समृद्धिको बाटोमा वडा नं. १९ ले अघि सारेको योजनाहरु के के रहेका छन ? उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दै कसरी वडा नंं. १९ विकासतर्फ अघि बढिरहेको छ ? भन्नेबारेमा यो स्तम्भमा वडाध्यक्ष सरदारसँगको कुराकानीः
वडामा के–कस्ता विकास निमार्णका कार्यहरु भएका छन् ?
स्थानीय तहको निर्वाचनपूर्व वडामा बाटोघाटोको सहज पहुँच थिएन । निर्वाचन भएपछि हाल वडा नं. १९ को विभिन्न ठाउँमा ग्राभेल बाटोको विकास भएको छ । त्यसलाई पनि अबको केही समयमै पिच गर्ने योजना रहेको छ । वडाले न्यु विराटनगरको अवधारणा बमोजिम वडाले विराटनगर–१ देखि धनपुरा हुँदै भौराहा, थलाहा, हुरहुरिया र दादरबैरिया जान प्रयोग गरिने १४ फिटको बाटोलाई रिटेनिङ वाल हालेर ४० फिटको बनाएको छ । त्यस्तै पुर्वाधार विकास अन्र्तगत वडा नं. १९ ले वडाभित्र रहेको १ सय ७० वटा बिजुलीको पोलमा बत्तीसमेत जडान गरिसकेको छ ।
आगामी योजना तथा कार्यक्रमहरु के रहेका छन् ?
वडा नं. १९ ले आफ्ना आगामी योजना तथा कार्यक्रमहरुमा वडाभित्र रहेको जनस्वास्थ्य कार्यालयको भवनमा बर्थिङ सेन्टर खोल्ने योजना बनाएको छ । वडाले जनस्वास्थ्य कार्यालयको भवनलाई १५ शैय्याको अस्पतालको रुपमा विकसित गर्ने दीर्घकालीन योजना अनुरुप विगतमा १ करोड रुपैयाँ बराबरको संरचना तयार गरिसकेको छ । योजनालाई सार्थकता प्रदान गर्न वडाले चालु आर्थिक बर्षमा उक्त संरचनामा ५० लाख रुपैयाँ थप गरेर कुल १ करोड ५० लाखको लागतमा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै वडाले आफ्नो अन्य योजना तथा कार्यक्रहरु अन्तर्गत मुख्यतः रेखाङ्कनसहितको १५ बिघा क्षेत्रफलको जग्गामा अन्तराष्ट्रिय सभाहल बनाउने र १६ बिघामा अन्तराष्ट्रियस्तरको खेलकुद मैदान बनाउनेलगायतका योजनाहरुसमेत अघि सारेको छ ।
बजेटको अवस्था के छ ?
महानगरपालिकाको तर्पmबाट विनियोजन भएको २ करोड २० लाखको बजेट पुर्वाधार विकासका कार्यहरुका लागि पर्याप्त देखिँदैन । यही अनुपातमा बजेट विनियोजन हुने हो भने विकास निर्माणका कार्यहरुलाई परिपुर्ति गर्न कम्तीमा १० देखि १२ बर्ष लाग्ने करिब निश्चित नै छ । क्षेत्रफलको हिसाबले वडा नंं. १९ विराटनगर महानगरपालिकाकै ठूलो वडाको रुपमा रहेको छ । वडा नं. १९ को विकास निर्माणका कार्यहरुमा अर्बाैंको बजेट खर्च हुने ठाउँ छ । तर, छोटो कार्यकाल र २ करोड २० लाखको समानुपातिक बजेटको कारणले गर्दा विकास निर्माणका कार्यहरुको परिकल्पनासमेत गर्न सकिएको छैन । तसर्थ वडाले आफ्नो ५ वर्षको कार्यकालमा हालसम्म आम नागरिकको अपेक्षा अनुरुपको कार्य गर्न नसक्दा जनताबाट गाली सुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आफ्नो कार्यकालमा वडालाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?
वडा नं. १९ मा करिब १३ सय घरधुरीमा ५ हजार आम नागरिकले बसोबास गर्दै आएका छन । यस वडालाई विराटनगरकै नमुना बस्तीको रुपमा विकसित गर्ने योजना रहेको छ । न्यू विराटनगरको अवधारणा बोकेर वडाको विकास निर्माणका कार्यहरु अघि बढाईरहेको छु । निर्माण भईसकेका संरचनाहरु पनि भत्काउन नपर्नेगरी पुर्वाधारहरुले भरिपूर्ण स्वच्छ, सफा र सुरक्षित वडाको परिकल्पना बमोजिम विकास निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छु । यसमा स्थानीय जनता र सबैको साथ सहयोगको आवश्यक रहेको छ ।
जनगुनासो र आलोचना कतिको पाउनुभएको छ ?
जनप्रतिनिधि भएर निर्वाचित भईसकेपछि राम्रो काम गर्दा जनताले प्रशंसा पनि गरेका छन् । निर्माण कार्य समयमै सम्पन्न नहुँदा आलोचना पनि बेहोर्नु परेको छ । मुख्य कारण बजेट अभावकै कारणले गर्दा वडाको विकासले गति लिन सकेको छैन । महत्वकांक्षी योजनाहरु परिकल्पनामै सिमित भएका छन् । विराटनगर पनि उप–महानगरपालिकाबाट महानगरमा परिणत भएर प्रदेश नं. १ को राजधानी नै बनिसक्दा जनताको अपेक्षा पनि क्रमशः बढ्दै गएका छन् । तर, बजेटले गर्दा हाम्रो हात भने बाँधिएको छ ।