लोड हुँदैछ...

मेनु

पर्यटन वर्षले कोशीमा पारेको प्रभाव

पर्यटन वर्षले कोशीमा पारेको प्रभाव


विराटनगर । नेपालको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यको अनुपम संगम मानिने कोशी प्रदेशले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो भू–भाग झापाको केचना कलनसम्मको विशाल भू–धरातल ओगटेको छ । यही भौगोलिक विशिष्टता र जैविक एवं सांस्कृतिक सम्पन्नताले गर्दा कोशी प्रदेश पछिल्लो समय पर्यटन प्रवद्र्धनमा केहि आशलाग्दा काम भएका छन् । विशेष गरी छिमेकी मुलुक भारत र तेस्रो मुलुकका पर्यटकहरूलाई आकर्षित गर्न कोशी प्रदेश सरकारले अघि सारेका योजनाहरूबाट पर्यटक बढ्न थालेका छन् ।


कोशी प्रदेश सरकारले मुलुकमै पहिलोपटक प्रदेश स्तरबाटै पर्यटन प्रहरी परिचालन गरेर केहि सहजता प्रदान गरेको छ । सुरक्षाको क्षेत्रमा नयाँ र सकारात्मक सन्देश दिएको छ । पर्यटन प्रहरीको मुख्य उद्देश्य भनेको यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशिष्टिकृत सुरक्षा प्रदान गर्नुका साथै उनीहरूको यात्रालाई झन्झटमुक्त, सुरक्षित र अविस्मरणीय बनाउनु हो । भन्सार विभाग र पर्यटन कार्यालयको पछिल्लो तथ्याङ्कले कोशी प्रदेशमा पर्यटकको आगमन निकै उत्साहजनक र आशालाग्दो रहेको देखाउँछ, जसले प्रदेशको समग्र अर्थतन्त्रमा नयाँ आशा र उत्साह जगाएको छ ।


भन्सार विभागको तथ्याङ्क अनुसार गत जेठ ७ गतेदेखि सरकारले भारतीय साना सवारीको विवरण राख्न थालेयताको नतिजा निकै सकारात्मक र उत्साहपूर्ण पाइएको छ । जेठ मसान्तसम्मको छोटो अवधिमा मात्र टिआइभी प्रणालीमा ८६ हजार ५२ वटा सवारी साधन दर्ता भएका छन् भने ६५ हजारभन्दा बढी भारतीय साना सवारी साधनहरू औपचारिक रूपमा नेपाल प्रवेश गरेका छन् । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार यस अवधिमा करिब २ लाखभन्दा बढी भारतीय नागरिकहरू साना सवारी साधन मार्फत नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । कोशी प्रदेशका मुख्य नाकाहरूबाट मात्रै एक महिनामा ११ हजारभन्दा बढी साना सवारी साधन भित्रिएका छन्, जसले यहाँको पर्यटन बजारको विशाल सम्भाव्यता र आकर्षणलाई प्रस्ट पार्छ । पर्यटन कार्यालय काँकडभिट्टाले उपलब्ध गराएको विवरण चालु आर्थिक वर्षको साउन १ गतेदेखि जेठ मसान्तसम्म काँकडभिट्टा नाकाबाट मात्रै कुल १ लाख ५४ हजार ३३ जना पर्यटकहरू नेपाल भित्रिएका छन् । यसमध्ये ८ हजार ९ सय १९ जना तेस्रो मुलुकका पर्यटक रहेका छन् भने १ लाख ४५ हजार १ सय १४ जना भारतीय पर्यटक रहेका छन् । सोही अवधिमा ८ हजार ६ सय ५२ जना तेस्रो मुलुकका र १ लाख ३० हजार ८ सय ४२ जना भारतीय पर्यटक सोही नाका हुँदै फर्किएको तथ्यांकले देखाउँछ । काँकडभिट्टा र इलामको पशुपतिनगर नाकालाई संयुक्त रूपमा हेर्ने हो भने एघार महिनाको अवधिमा १ लाख ३१ हजार ९ सय १५ पर्यटक प्रवेश गरेको र त्यसमध्ये ३८ हजार ९ सय ६८ बाह्य पर्यटक रहेको देखिन्छ । विराटनगर नाकाबाट पनि २ हजार ७ सय २१ साना सवारी साधन र ४ हजार ४ सय ८६ मोटरसाइकल औपचारिक रूपमा भित्रिएका छन् ।


कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेका अनुसार, यो प्रदेश स्तरबाट मात्रै पर्यटक लक्षित गरेर प्रहरी राखिएको नेपालकै पहिलो र भिन्न अभ्यास हो । हाल कोशीका विभिन्न ७ महत्वपूर्ण पर्यटकीय स्थानहरूमा २१ जना पर्यटन प्रहरी परिचालन गरिसकिएको छ । यो सख्यालाई थप विस्तार गर्ने र सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ कोशी प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा थप ६० जना सुरक्षाकर्मीलाई विशेष पर्यटन प्रहरी तालिम दिइँदै छ । यस अगाडि नै २० जनाले लालिम लिइसकेका छन् । २० जना पनि प्रदेश आफैले तयार गरेका पर्यटन प्रहरी हुन् ।


पर्यटन प्रहरीको काम केवल गस्ती गर्नु मात्र नभई पर्यटकका समस्या सुन्ने र समाधान गर्ने पनि हो । यसअघि भारतबाट आउने पर्यटकहरूले सीमा नाका र सडकका विभिन्न ठाउँमा हुने प्रहरी चेकिङका कारण ठुलो सास्ती र मानसिक हैरानी खेप्नुपर्ने गुनासो बारम्बार आउने गर्दथ्यो । यसले नेपालको छविमा समेत नकारात्मक असर परिरहेको थियो । तर अहिले प्रदेश सरकारले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतीय गाडीहरूमा नाका प्रवेश गर्ने बित्तिकै पर्यटन स्टिकर टाँस्ने व्यवस्था गरेको छ । उपसचिव न्यौपानेका अनुसार, एकपटक स्टिकर टाँसेको गाडीलाई अन्यत्र ठाउँमा पटक–पटक चेकिङ गरेर दुःख दिने काम पूर्ण रूपमा बन्द गरिएको छ । प्रहरीले संका लागेमा मात्रै चेकिङ गर्ने भएकाले पहिला भन्दा बाह्य पर्यटकलाई सहज भएको पर्यटन व्यबसायि भविष श्रेष्ठले बताए । अझै केहि सुधार गर्न भने वाकि रहेको उनले बताए ।


कोशी प्रदेशमा पारिवारिक घुमघाम र मनोरञ्जनका लागि दर्जनौँ यस्ता पर्यटकीय तथा धार्मिक गन्तव्यहरू छन्, जसले विश्वभरका प्रकृति प्रेमी र तीर्थालुहरूलाई तानिरहेका छन् । सुनसरी, मोरङ र झापाका बासिन्दाका लागि मात्र नभई सीमापारिका विहार तथा पश्चिम बङ्गालका पर्यटकहरूका लागि भेडेटार एउटा उत्कृष्ट ‘हिल स्टेसन’ सावित भएको छ । धरान बजारबाट मात्र १६ किलोमिटरको दूरीमा रहेको १४२० मिटर उचाइको भेडेटारमा तराईको गर्मी छल्न आउने पर्यटकको सधैँ घुइँचो लाग्छ । तराईमा प्रचण्ड गर्मी हुँदा भेडेटारमा कुहिरोभित्र हराउन पाउनु र सिरसिर चिसो हावामा रम्नु यहाँको मुख्य आकर्षण हो । भेडेटार केवल आफैँमा एउटा गन्तव्य मात्र नभई आसपासका अन्य पर्यटकीय क्षेत्रहरू जस्तै पाथिभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना र राजारानी तालमा पुग्ने प्रमुख ट्रान्जिट प्वाइन्ट पनि हो । यहाँको आधुनिक सिसाको टावर (क्पथधबपि) ले पर्यटकलाई थप रोमाञ्चकता र नयाँपन प्रदान गरेको छ । विहारको कटिहारबाट आएका किरण कुमार जस्ता युवाहरूका लागि भेडेटारको मौसम एउटा सपनाको संसार जस्तै लाग्ने गरेको छ । उनीहरू जस्ता दैनिक सयौँ पर्यटक सार्वजनिक सवारी वा रेलमार्फत जोगवनी हुँदै नेपाल भित्रिने गरेका छन्, जसले गर्दा यहाँका होटल र होमस्टेहरू सधैँ भरिभराउ देखिन्छन् । भेडेटारको यो पर्यटकीय चहलपहलले धरान र धनकुटाको स्थानीय अर्थतन्त्रमा समेत ठुलो टेवा पु¥याएको छ ।


पर्यटनको यो बढ्दो लहरले स्थानीय अर्थतन्त्र र जनजीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याएको छ । धनकुटाको डाँडाबजारस्थित सामुदायिक होमस्टे सञ्चालक सीता घिमिरेको अनुभवले भन्छ कि यहाँ आउने भारतीय पर्यटकहरूले केवल कोठा र खानाको मात्र उपयोग गर्दैनन्, उनीहरूले स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक कृषि सामग्रीहरू समेत ठुलो परिमाणमा किनेर लैजाने गरेका छन् । यहाँ उत्पादित आरु, आल्चा, काउली र अन्य मौसमी फलफूल तथा तरकारीहरू भारतीय पर्यटकका लागि आकर्षणको वस्तु बनेका छन् । यसले एकातिर पर्यटन व्यवसाय फस्टाएको छ भने अर्कोतिर स्थानीय किसानहरूको उत्पादनले सिधै उपभोक्ता र राम्रो बजार मूल्य पाएको छ । यसरी पर्यटनले स्थानीय स्वरोजगारी र आर्थिक समृद्धिको नयाँ ढोका खोलेको छ ।


इलामको कन्याम अर्को त्यस्तो गन्तव्य हो जसले चियाको माध्यमबाट आफ्नो छुट्टै पहिचान र ब्रान्ड विश्वभर बनाएको छ । भारतीय शहर दार्जिलिङको नजिक रहेको कन्यामका चिटिक्क परेका चिया बगानहरूले पहाडका ढिस्काहरूमा हरियो गलैँचा बिछ्याए जस्तो झल्को दिन्छन् । यहाँ विभिन्न जातीय पोसाक लगाएर तस्बिर खिच्ने, घोडा चढ्ने र भर्खरै सञ्चालनमा आएको स्काई वाकमा हिँड्ने पर्यटकहरूको सङ्ख्या उल्लेख्य छ । कन्यामलाई आधार बनाएर पर्यटकहरू झुल्के घाम हेर्न श्रीअन्तु र रेड पाण्डा अवलोकन गर्न सन्दकपुरसम्म पुग्ने गरेका छन्, जसले पहाडी पर्यटनको सम्भावनालाई थप उचाइमा पु¥याएको छ ।


प्राकृतिक सुन्दरतासँगै वन्यजन्तु पर्यटनमा पनि कोशी प्रदेश निकै धनी र अद्वितीय छ । कोशी टप्पु वन्यजन्तु आरक्ष २०३२ सालमा स्थापना भएको हो र यो विशेष गरी अर्नाका लागि विश्वमै प्रख्यात छ । नेपालको सबैभन्दा ठुलो नदी कोशीको विशाल जलराशि र यसका आसपासका सिमसार क्षेत्रहरू विश्वभरका चरा अवलोकनकर्ताहरूका लागि स्वर्ग मानिन्छन् । यहाँ पर्यटकहरूका लागि बर्ड वाचिङ क्याम्प, हात्ती सफारी र जिप सफारीका आधुनिक सुविधाहरू उपलब्ध छन् ।


त्यस्तै, गुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रले कोशी प्रदेशको पर्यटनमा विशेष गौरव र पहिचान थपेको छ । तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको कोशी पर्यटन वर्ष २०८२ को औपचारिक सुरुवात पनि यहीँबाट भएको घोषणा गरिएको थियो । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजाति यही क्षेत्रमा पाइने भएकाले यसको वातावरणीय र पर्यटकीय महत्त्व अझ बढेको हो । तेह्रथुमको वसन्तपुर बजारबाट सुरु हुने यो यात्राले पर्यटकलाई लालीगुराँसको स्तम्भदेखि लिम्बू संस्कृतिको जीवन्त स्वरूप झल्काउने चोलुङ पार्कसम्म पु¥याउँछ । चोलुङ पार्कमा ढुङ्गा र स्थानीय सामग्रीको प्रयोग गरेर बनाइएका संरचनाहरूले फिल्म र म्युजिक भिडियो सुटिङका लागि समेत ठुलो आकर्षण बढाएको छ, जसले सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ ।


संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको गुफापोखरीले पर्यटकलाई हिमाली शृखलाको काखमा पुगेको अलौकिक अनुभूति गराउँछ । २८९० मिटरको उचाइमा रहेको यो पोखरीबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र पाँचौँ अग्लो मकालु हिमालको छायाँ पोखरीको कञ्चन पानीमा देख्न सकिन्छ । हिउँ पर्ने समयमा यहाँ हिउँ खेल्न जानेहरूको घुइँचो लाग्ने गर्दछ, जसले गर्दा यहाँका टी–हाउसहरू र साना होटलहरूको व्यवसायमा उल्लेखनीय टेवा पुगेको छ । धार्मिक पर्यटकका लागि पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेव मन्दिर कोशी प्रदेशको अर्को मुख्य आस्थाको केन्द्र हो । हिन्दु, बौद्ध र किराँत तीनै धर्मको त्रिवेणी मानिने हलेसी गुफामा पुग्दा देखिने धार्मिक सहिष्णुता र सद्भावले यहाँको सांस्कृतिक गरिमालाई थप उँचो बनाएको छ । अचेल काठमाडौँ र अन्य ठुला शहरहरूबाट मध्यपहाडी राजमार्ग हुँदै हलेसी पुग्न सहज पहुँच भएकाले धार्मिक पर्यटकको चाप बढेको छ । यसले गर्दा स्थानीय स्तरमा होटल र यातायात व्यवसायमा नयाँ लगानीका अवसरहरू सिर्जना भएका छन् ।
सरकारले आउँदो आर्थिक वर्षलाई ‘कोशी भ्रमण वर्ष’ को रूपमा विशेष तयारीका साथ मनाउने योजना बनाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीका अनुसार भारतीय पर्यटकलाई आकर्षित गर्न कोशी–बिहार कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई ब्राण्ड एम्बेस्डरको रूपमा भारतीय क्षेत्रमा प्रचार गराउने, नेपाली भाषी भारतीयहरूलाई लक्षित गरी विशेष कार्यक्रमहरू गर्ने र भारतीय पर्यटकहरूलाई थप आकर्षित गर्ने उनले बताए । धार्मिक स्थलसम्मको पहुँच र साहसिक पर्यटनका गतिविधिहरू थप्न सके कोशी प्रदेश भारतीय पर्यटकका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘हिलस्टेशन’ र ‘रिलिजियस हब’ बन्ने निश्चित छ । पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले नेपालमा आउने पर्यटकलाई क्वान्टिटी (सख्या) बाट क्वालिटी (गुणस्तर) मा बदल्न र उनीहरूको बसाइ लम्ब्याउन अब सरकार र निजी क्षेत्रले ठोस योजनाका साथ सहकार्य गर्नुपर्ने बेला आएको बताउँछन् ।


७ वटा विभिन्न पर्यटकीय स्थानमा खटिएका पर्यटन प्रहरीले पर्यटकलाई सुरक्षित महसुस गराउनुका साथै उनीहरूलाई आवश्यक सूचना र तत्काल सहयोग प्रदान गर्दै आएका छन् । पर्यटकहरूको सुविधाका लागि नाकामै स्टिकर टाँस्ने र प्रहरी चेकिङमा अपनाइएको लचिलोपन एवं मित्रवत व्यवहारले पर्यटकहरूमा नेपालप्रति सकारात्मक धारणा विकास भएको पर्यटन व्यबसायिहरुले बताएका छन् । पहाडका सुन्दर डाँडाहरू, तराईका फाँटहरू, प्रसिद्ध धार्मिक धामहरू र लोपोन्मुख वन्यजन्तुको सङ्गम रहेको कोशी प्रदेशले सुरक्षा, सत्कार र सौन्दर्यको त्रिवेणीमार्फत पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने उद्योगीहरूको ठम्याई छ । उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार कोशी प्रदेशका लागि पर्यटन नै आर्थिक मेरुदण्डको सबैभन्दा ठुलो र भरपर्दो हिस्सा बन्ने सम्भावना छ । यसका लागि पूर्वाधार विकास र सेवाको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय भने धरानमा हर्क साम्पाङले बनाएको पार्क पनि पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।