विराटनगर । आपराधिक उपद्रो मुद्दामा विराटनगरका ताजिम अन्सारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीलाई शुक्रबार थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । यसअघि हाजिर जमानीमा छोडिएका अन्सारी शुक्रबार अदालतमा उपस्थित भएका थिए। उनी हाजिर भएपछि अदालतले बयान लिएको थियो। बयान र थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारीविरुद्ध अदालतमा दुईवटा छुट्टाछुट्टै आपराधिक उपद्रवका मुद्दा दर्ता गरेको थियो। जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते विराटनगरस्थित नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी तथा तोडफोड गरिएको घटनालाई लिएर यी मुद्दा दर्ता भएका हुन्।
नापी कार्यालयसँग सम्बन्धित मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ भने सरकारी वकिल कार्यालयसँग सम्बन्धित अर्को मुद्दामा अदालतले अन्सारीसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।