लोड हुँदैछ...

मेनु

सुनसरीमा ६४.५७ ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ

सुनसरीमा ६४.५७ ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ

इटहरी । सुनसरीको इटहरी र रामधुनीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा ६४.५७ ग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–१७ पकलीमा चेकजाँचका क्रममा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई नियन्त्रणमा लिएको थियो। युवराज बस्नेतको साथबाट ०.६८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त लागूऔषध इटहरी–१७ का सौकात मियासँग खरिद गरेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो।

त्यसैदिन दिउँसो इटहरी–१७ स्थित स्टार लाइट खाजा घर होटलमा छापा मार्दा होटल सञ्चालक साहीदुल मियाको साथबाट ०.९६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, राति रामधुनी नगरपालिका–६ सौरनामा गरिएको चेकजाँचका क्रममा स्थानीय ४८ वर्षीय विजय राजधामीको साथबाट ६२.९३ ग्राम ब्राउन सुगर, ६३ हजार ८२० रुपैयाँ नगद तथा दुई थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

तीनवटा छुट्टाछुट्टै कारबाहीमा कुल ६४.५७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय पकलीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।