लोड हुँदैछ...

मेनु

विराटनगरमा ओली विरुद्ध खनिए नेताहरु

विराटनगरमा ओली विरुद्ध खनिए नेताहरु

विराटनगर । नेकपा (एमाले) विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा तल्लो तहका नेताहरूले वर्तमान नेतृत्वप्रति कडा आक्रोश व्यक्त गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने माग गरेका छन् । पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको र जनस्तरमा पार्टीको छवि धुमिल हुँदै गएको भन्दै नेताहरूले अब नेतृत्वको विकल्प खोज्ने बेला आएको बताएका हुन् ।

बैठकमा सहभागी नेताहरूमध्ये मोरङ क्षेत्र नम्बर ६ का पूर्व उम्मेदवार तथा पूर्व केन्द्रीय सदस्य विनोद ढकालले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । उनले केवल अध्यक्ष ओलीलाई मात्र नभई महासचिव शंकर पोखरेललाई समेत दोषी ठह¥याउँदै उनीमाथि प्रहार गरे । ढकालले पोखरेलको नाम लिएर नै भने, ‘हिजो अस्तिसम्म तपाईंले नै अध्यक्षलाई देवतत्वकरण गर्नुभयो, यसको दोषी तपाईं पनि हो ।’ उनले २०२८ सालको झापा आन्दोलनको स्मरण गराउँदै नेतृत्वलाई गम्भीर चेतावनी दिए । पहिला केही वामपन्थीहरू मिलेर पार्टी निर्माण गर्नका लागि जसरी झापा आन्दोलन भएको थियो, अहिलेको नेतृत्वले स्वेच्छिक रूपमा पद हस्तान्तरण नगरे वामपन्थी जोगाउनका लागि युवाहरूले पुनः त्यस्तै विद्रोह गर्ने उनको दाबी थियो । ‘तपाईंहरू नेतृत्व नछाडी बसिरहनुभयो भने इतिहासले तपाईंहरूलाई हेरेको हेर्यै बनाउनेछ र युवाहरूले नयाँ आन्दोलनको शङ्खघोष गर्नेछन्,’ ढकालले बैठकमा भनेका थिए ।

यस्तै, सोलुखुम्बुका जिल्ला अध्यक्ष डुफ बास्तोलाले पनि नेतृत्वको कडा आलोचना गर्दै अब पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए । उनले पार्टी निर्वाचनमा तेस्रो स्थानमा खुम्चिनुमा तीनवटा मुख्य कारण प्रस्तुत गरे, जसमा भू–राजनीति, सामाजिक सञ्जालको प्रभाव र पार्टीभित्रको आन्तरिक कलह रहेका छन् । बास्तोलाले विगतमा २०८९ कोे निर्वाचनपछि सत्तामा जाने म्यान्डेट नहुँदाहुँदै पनि सरकारमा गएर गरिएका कतिपय निर्णयले पार्टीलाई ठूलो राजनीतिक घाटा लागेको बताए । उनले नेतृत्वमाथि प्रश्न उठाउँदै भने, ‘अहिलेको नेतृत्वबाट अब पार्टी अगाडि बढ्न सक्दैन । माथिदेखि तलसम्मका सबै पदाधिकारीले नैतिकताका आधारमा बिदा लिऔँ, म पनि आफ्नो पद त्याग्न तयार छु ।’ धनकुटाका जिल्ला अध्यक्ष शिव आङलाले पनि वर्तमान कार्यशैलीबाट पार्टी चल्न नसक्ने भन्दै पूर्ण रूपान्तरणको माग गरे ।

समीक्षा बैठकमा उम्मेदवार भएका नेताहरूले निर्वाचनका बेला भोगेका व्यवहारिक कठिनाइहरू सुनाएका थिए । बैठकमा सहभागि एक प्रदेश सदस्यले बताए अनुसार चुनावी मैदानमा अध्यक्ष केपी ओलीको नाम लिन र उनको फोटो प्रयोग गर्न कठिन अवस्था सिर्जना भएको थियो । मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार इरान राई र क्षेत्र नम्बर ५ का उम्मेदवार मनोज अग्रवालले पनि नेतृत्वको कडा आलोचना गर्दै ओलीको छविका कारण भोट माग्न गाह्रो भएको बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नयाँ पुस्ता (जेन–जी) का मतदाताहरूले ओलीको कार्यशैली र दमनकारी नीतिको विरोध गर्दै एमालेलाई भोट नदिएको गुनासो गरेका थिए । कतिपय मतदाताले उम्मेदवारलाई ‘तपाईं व्यक्ति त ठिकै हुनुहुन्छ तर तपाईंलाई जिताएर पठाउँदा फेरि ओली नै शक्तिशाली हुने भएकाले यसपटक भोट दिन सकिँदैन’ भनेर जवाफ दिएको उनीहरूको भनाइ थियो । चुनावका बेला अध्यक्षलाई भाषण गर्न बोलाउन सक्ने अवस्था समेत नरहेको उनीहरूले बताएका थिए ।

तर, केहि नेताहरू नेतृत्व परिवर्तनको पक्षमा भने देखिएनन् । केही केन्द्रीय नेताहरूले अध्यक्ष ओलीको बचाउ गर्दै अहिले नै विकल्प खोज्ने समय नभएको बताएका थिए । केन्द्रीय सदस्य तुलसी न्यौपानेले कार्यक्रमको ब्यानरमै प्रश्न उठाउँदै अहिले नै पार्टी पुनर्गठनको कुरा गर्नु गलत भएको धारणा राखेका थिए । उनले महाधिवेशन भएको धेरै समय नभएकाले तत्काल अध्यक्षको विकल्प खोज्नु असान्दर्भिक हुने तर्क गरे । त्यस्तै ओखलढुङ्गाकी उम्मेदवार अस्मिता थापा र सोलुखुम्बुकी कल्पना राईले पनि नेतृत्वको बचाउ गर्दै हारको सबै दोष नेतृत्वलाई मात्र दिनु न्यायोचित नहुने बताएका थिए । झापाका अध्यक्ष प्रेम गिरीले भने मध्यमार्गी धार समात्दै सबै दोष ओलीलाई मात्र दिनु नहुने तर अहिलेकै अवस्थामा पार्टीलाई अगाडि बढाउन असम्भव रहेको भन्दै सुधारको आवश्यकता औंल्याएका थिए ।

नेकपा (एमाले) ले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत देशभर यस्तै समीक्षा र सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ । विराटनगरको यस कार्यक्रममा कार्यदलका संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी थिए । कोशी प्रदेशका १४ वटै जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति छन् ।

यस अगाडी बागमती प्रदेशमा सम्पन्न यस्तै समीक्षापनि ओलीको विक्लप खोज्नु पर्ने मत बलियो देखिएको नेताहरुले बताएका छन् । पार्टीले आगामी असार १९ गतेसम्म देशभरको समीक्षा सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।