विराटनगर । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर आङबोले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको कडा आलोचना गरेका छन् । सरकारले ल्याएको बजेटले कुनै पनि स्पष्ट प्राथमिकता निर्धारण गर्न नसकेको र यो पूर्ण रूपमा दिशाविहीन रहेको उनको टिप्पणी छ।
बजेटका सम्बन्धमा आफ्नो धारणा राख्दै नेता आङबोले बजेटले शिक्षा, स्वास्थ्य, कृषि वा पूर्वाधारमध्ये कुन क्षेत्रलाई मुख्य प्राथमिकता दिएको हो भन्ने कुरामा अन्योल सिर्जना गरेको बताए । बजेट एकदमै अल्मलिएको र यसले प्रदेशको गुणात्मक विकासमा कुनै योगदान पुर्याउन नसक्ने उनको दाबी छ। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई दिनुपर्ने प्राथमिकतामा बजेट चुकेको र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई विश्वासमा लिने ठोस कार्यक्रम ल्याउन नसकेको उहाँले उल्लेख गरे । साना तथा मझौला उद्योग र कृषि क्षेत्रमा निजी क्षेत्रलाई परिचालन गर्ने योजना नहुँदा बजेटले अपेक्षित सफलता नपाउने उनको निष्कर्ष छ।
सरकारले आगामी आर्थिक वर्षका लागि राखेको ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई नेता आङबोले अवास्तविक र असम्भव भनी टिप्पणी गरेका छन् । चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा खुम्चिएको अवस्थामा ५ प्रतिशतको लक्ष्य भेट्न नसकिने उनको तर्क छ। साथै, प्रदेश सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको औँल्याउँदै ४० अर्ब ४० करोड हाराहारीको ठूलो बजेट ल्याउनुको कुनै अर्थ नभएको उनले बताए ।
बजेटमा विद्युत उत्पादन र प्रसारण लाइनका लागि विनियोजित रकमप्रति पनि उनले विमति जनाएका छन् । प्रसारण लाइनमा संघीय सरकार र विद्युत प्राधिकरणले काम गरिरहेको तथा निजी क्षेत्र र बैंकहरू लगानीका लागि तयार रहेको अवस्थामा प्रदेश सरकारको सीमित बजेट यस्ता क्षेत्रमा खर्चिनु गलत हुने आङबोको भनाइ छ। उहाँले यसलाई सरकारको गलत प्राथमिकताको रूपमा व्याख्या गरेका छन् ।
बजेटलाई परम्परागत र यथास्थितिवादी संज्ञा दिँदै आङबोले यसले आधारभूत वर्गका जनतालाई माथि उठाउन नसक्ने आरोप लगाए। संघीय सरकारले मध्यम वर्गको हित विपरीत बजेट ल्याएको र गरिबको नामै उच्चारण नगरेको अवस्थामा प्रदेश सरकारले पनि कुनै नवीन सुरुवात गर्न नसकेको उनले बताए । बजेट अनुत्पादक क्षेत्रमा बढी केन्द्रित भएको र यसले प्रदेशको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।