लोड हुँदैछ...

मेनु

भारतीय अवरोधले चिया उद्योग इतिहासकै ठूलो संकटमा, ८३ उद्योग बन्द !

भारतीय अवरोधले चिया उद्योग इतिहासकै ठूलो संकटमा, ८३ उद्योग बन्द !

विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन्।

निर्यात ठप्पजस्तै बनेपछि इलामका ५३ चिया उद्योगले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् भने झापाका ३० उद्योगले असार ४ गतेदेखि उत्पादन बन्द गर्ने भएका छन् ।

उद्योगीहरूका अनुसार भारतमा निर्यात भइसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा गोदाममै रोकिएको छ। नेपालभित्रै उद्योगहरूमा थप सात लाखदेखि १५ लाख किलोसम्म तयारी चिया बिक्रीविहीन अवस्थामा थन्किएको छ। निर्यात रोकिएकोले उद्योगीहरूले किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी गरेका छैनन् ।

इलामको सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन्। नगरपालिकाको ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा वार्षिक करिब २ करोड किलो हरियो चियापत्ती उत्पादन हुने गरेको छ। उद्योग बन्द भएपछि किसानको बारीमै चियापत्ती कुहिने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने चिन्ता बढेको छ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन गर्न असम्भव भएको बताए। एसोसिएसनका महासचिव गोपाल कट्टेलले यसपटकको समस्या विगतका अवरोधभन्दा गम्भीर भएको उल्लेख गर्दै भारतीय बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाइने अवस्था सिर्जना गरिएको बताए।

भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार नेपालबाट जाने प्रत्येक खेपको चियाको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था छ। उद्योगीहरूका अनुसार परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने र प्रतिवेदन नआउञ्जेल चिया बिक्री गर्न नपाइने भएकाले व्यापारिक जोखिम बढेको छ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय पक्षले लगाएको अवरोध नहटाएसम्म उद्योग र बगान बन्द रहनेछ । उद्योगीहरूको भनाइमा भारतीय बजारमा नेपाली चियामाथि व्यवहारिक रूपमा गैरभन्सार अवरोध सिर्जना गरिएको छ।

नेपालबाट वार्षिक करिब सवा ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुँदै आएको छ। देशभर करिब २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ भने किसान र श्रमिक गरी ५० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा यस क्षेत्रमा निर्भर छन्।

नेपाली अर्थोडक्स चियाको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्यात हुने गरेको छ। उद्योगी, किसान र जनप्रतिनिधिहरूले समस्या समाधानका लागि नेपाल सरकारले भारतसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।