लोड हुँदैछ...

मेनु

कोशीमा ब्राउन सुगरविरुद्ध प्रहरीको अभियान : तीन जिल्लाबाट ५ जना पक्राउ

कोशीमा ब्राउन सुगरविरुद्ध प्रहरीको अभियान : तीन जिल्लाबाट ५ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै कारबाहीका क्रममा झापाबाट तीन जना र सुनसरीबाट दुई जना पक्राउ परेका हुन्।

झापाको शिवसताक्षी नगरपालिका–७ बाट प्रहरीले १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित ४० वर्षीय सुरज ढकाल र ३१ वर्षीय सन्दिहाङ लिङ्देनलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद १ लाख १ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २१ थान मोबाइल फोन र दुई थान घडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद मोबाइल फोन र घडी लागूऔषध प्रयोगकर्ताले धितोस्वरूप राखेका सामान रहेको खुलेको छ। रकम अभाव भएका प्रयोगकर्ताले मोबाइल तथा घडी बन्दकी राखेर लागूऔषध खरिद गर्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट १३.७२ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का १७ वर्षीय प्रयास चौधरी र ३२ वर्षीय अजय चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले सवारी जाँचका क्रममा को.२१ प.५६५२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा अजय चौधरीको साथबाट ब्राउन सुगर बरामद गरेको हो।

यसैबीच, झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट पनि प्रहरीले एक जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमल गाउँपालिका–३ का ३१ वर्षीय धनुष सहनी रहेका छन्।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई शङ्काको आधारमा जाँच गर्दा प्लास्टिकबाहेक ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषध कारोबारमा नयाँ–नयाँ तरिका प्रयोग हुन थालेकाले निगरानी बढाइएको र यस्ता गतिविधि नियन्त्रणका लागि समुदायको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।