लोड हुँदैछ...

मेनु

नेटवर्किङको नाममा ठगी गरेको आरोपमा इटहरीका व्यवसायी पक्राउ

नेटवर्किङको नाममा ठगी गरेको आरोपमा इटहरीका व्यवसायी पक्राउ

इटहरी । मासिक ८०–९० हजार रुपैयाँ तलब र उज्ज्वल भविष्यको सपना देखाएर सयौं नेपाली युवायुवतीलाई भारत पुर्‍याई करोडौं रुपैयाँ असुलेको आरोपमा सुनसरीको इटहरी–२ हलगडाका ईश्वर ढकाल पक्राउ परेका छन्।

भारतको बिहार राज्यस्थित पटना तथा अन्य सहरमा पुर्याएर नेपालीलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले ढकाललाई पक्राउ गरेको हो। इटहरीस्थित होटल सोल्टी वेस्टेन्ड अगाडि रहेको ‘रिफ्रेस क्याफे’ सञ्चालन गर्दै आएका ढकालले ठगेको भन्दै ८ जना पीडितले प्रमाणसहित उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडितहरूको भनाइ अनुसार फेसबुकमार्फत सम्पर्क विस्तार गरी भारतमा आकर्षक तलबको जागिर दिलाइदिने प्रलोभन देखाइन्थ्यो। त्यसपछि ‘सुपरभाइजर’, ‘एकाउन्टेन्ट’ वा ‘बिजनेस वर्किङ’ जस्ता पदमा काम लगाइदिने आश्वासन दिँदै विभिन्न शीर्षकमा रकम उठाएर भारत लगिने गरिएको थियो।

भारत पुगेपछि जागिर दिनुको सट्टा नयाँ सदस्य भित्र्याउने, नेटवर्क विस्तार गर्ने र रकम संकलन गर्ने दबाब दिइने गरेको पीडितकाके आरोप छ। मोरङको सुन्दरहरैंचा–दुलारीका राजेश रिजालले आफू ५ लाख रुपैयाँभन्दा बढी ठगिएको बताए। उनका अनुसार भारतमा एकाउन्टेन्टको जागिर दिलाइदिने भन्दै लगिएको थियो।

अर्का पीडित पब्लिक कट्टेलले पनि ५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएको बताएका छन्। इटहरी–५ का कृष्णप्रसाद दंगालले २ लाख २० हजार रुपैयाँ ठगिएको बताए । यस्तै, किरणबहादुर कटुवालले ४ लाख रुपैयाँभन्दा बढी ठगिएको दाबी गरेका छन्।

कटुवालका अनुसार सुरुमा राम्रो व्यवहार र आकर्षक भविष्यको सपना देखाएर विश्वास जित्ने प्रयास गरिन्थ्यो। पछि अन्य मानिस ल्याउन दबाब दिइने, कागजात नियन्त्रणमा लिने र मानसिक दबाब सिर्जना गरिने गरिएको थियो। उनले आफूलाई सुरुमा २० हजार रुपैयाँ तलब दिएपनि त्यसपछि कुनै रकम नपाएको बताए।

कानेपोखरी गाउँपालिकाका पवन राईले पनि आफू सोही जालोमा फसेको बताएका छन्। खाडी मुलुक जाने तयारीमा रहेका उनलाई भारतमै मासिक ८०–९० हजार रुपैयाँ आम्दानी हुने भन्दै पटना बोलाइएको थियो। उनले सुरुमा राम्रो बसोबास र सम्मानजनक व्यवहार पाइए पनि पछि जागिर नभई ‘मोटिभेसन क्लास’, लगानी योजना र नयाँ सदस्य भित्र्याउने अभियानमा लगाइएको बताए।

पीडितहरुका अनुसार बिहारको मुजफ्फरपुर, पुनपुन र बोधगयालगायत क्षेत्रमा यस्ता कम्पनीका नाममा सञ्चालन भएका होस्टेलमा सयौं नेपाली युवायुवती राखिएका छन्। ती युवाहरूबाट नागरिकता, राहदानी, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रसमेत नियन्त्रणमा लिइने गरेको छ।

पीडितहरूले यस प्रकरणमा ईश्वर ढकालसँगै मोरङकी गीता राई, सल्यानका निमबहादुर थापा, गिरिधर मगर, सर्लाहीका अनिल थापा मगर तथा उमेश रानालगायत अन्य व्यक्तिहरू पनि संलग्न रहेको आरोप लगाएका छन्। संलग्न सबैमाथि कानुनी कारबाही, ठगी भएको रकम फिर्ता तथा भारतमा फसेका नेपालीहरूको उद्धारका लागि सरकार र सम्बन्धित निकायसँग पीडितहरुले माग गरेका छन्।

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।