विराटनगर । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संघीय बजेटले गरिब र मध्यम वर्गको ढाड सेकाएको टिप्पणी गर्दै प्रदेश सरकारलाई जनमुखी बजेट ल्याउन सुझाव दिएका छन्।
कोशी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहँदा नेता आङ्बोले सामाजिक सञ्जालमार्फत संघीय सरकारको बजेटको आलोचना गरेका हुन्। उनले संघीय बजेटले न्यून आय भएका गरिब र श्रमजीवीलाई मध्यम वर्गमा उकास्ने गफ दिए पनि व्यवहारमा भने उनीहरूलाई थप संकटमा पारेको बताएका छन्।
“शिक्षा र स्वास्थ्यमा कर, बिजुलीमा भ्याट, राइड सेयरिङमा थप कर र स्वास्थ्य बीमाको दायरा संकुचित गरेर गरिबलाई झन् गरिब बनाउने काम भएको छ,” आङ्बोले लेखेका छन्, “यस्ता नीतिले मध्यम वर्गको ढाड सेकाउने निश्चित छ।” उनले गरिबको घर भत्काएर सुकुम्बासी बनाउने नीति लिएको भन्दै संघीय बजेटको उदेश्य र परिणाम विपरीत रहेको दाबी गरे।
आज कोशीसहित सातै प्रदेशले बजेट ल्याउन लागेको सन्दर्भमा उनले विगतका कमजोरी सच्याएर औचित्य पुष्टि गर्ने बजेट ल्याउन शुभकामना समेत दिएका छन्। आङ्बोले प्रदेश सरकारहरूले संघीय बजेटका यी ‘त्रुटि’हरूलाई करेक्सन गर्दै जनतालाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन्।
कोशी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा करिब ३९ अर्बको बजेट पेश गर्ने तयारी गरेको छ। सरकारले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने जनाइरहँदा पूर्व अर्थमन्त्री आङ्बोको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।