लोड हुँदैछ...

मेनु

राजश्व हिनामिनाको आशंकामा मोरङका पाँच क्रसरमाथि अनुसन्धान

राजश्व हिनामिनाको आशंकामा मोरङका पाँच क्रसरमाथि अनुसन्धान

विराटनगर । मोरङका पाँचवटा क्रसर उद्योगहरूमाथि राजश्व हिनामिनाको आशंकामा अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ । दर्ता बिना सञ्चालन भएको र मापदण्ड विपरीत रहेको भन्दै प्रशासनले उद्योगहरू बन्द गरेपछि निर्माणाधीन काँकरभिट्टा–लौकही सडकखण्डमा कालोपत्रे गर्ने तयारी अवस्थामा पुगेको झण्डै २५ किलोमिटर क्षेत्रमा काम ठप्प भएको हो ।

जिल्ला अनुगमन समितिले मोरङका विभिन्न क्रसर उद्योगमा छापा मारी कागजपत्र जफत गरेपछि जिल्ला समन्वय समिति मोरङले पत्र लेखेरै आन्तरिक राजश्व कार्यालय विराटनगर र दमकले ती उद्योगहरूमाथि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको दायरामा रहेका उद्योगहरूले राजश्व छली गरेको आशंका अनुगमन समितिले गरेको हो । जिल्ला समन्वयको पत्रका आधारमा र प्राप्त बिल भपाई तथा खाताहरुका आधारमा अध्ययन र अनुसन्धान गर्ने काम जारी रहेको आन्तरिक राजश्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले जानकारी दिए । उनले भने, ‘हामीले केही क्रसरको स्थलगत अध्ययन गर्यौं केही क्रसरका सञ्चालकहरु सम्पर्कमा आइरहनुभएको छैन त्यसैले स्थलगत जान बाँकी छ, स्थलगतरुपमा हेरेपछि अन्तिम निश्कर्षमा पुग्छौं ।’

लेटाङ र मिक्लाजुङका दुई दुई वटा क्रसरहरू बन्द हुँदा सडक निर्माणका लागि आवश्यक पर्ने गिटी र ‘अस्फाल्ट’ को आपूर्ति पूर्ण रूपमा रोकिएको छ ।

अनुगमनका क्रममा लेटाङ–३ स्थित ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्सले गिटी उत्पादन गर्ने उद्देश्य राखेर क्रसर चलाएको तर नवीकरण र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरेको पाइएको छ । सोही क्षेत्रको माँ भगवती स्टोन मिल्स त दर्ता र अनुमति बिना नै सञ्चालनमा रहेको भेटिएको छ । यी दुवै उद्योगका सञ्चालक भीमबहादुर पौडेल हुन् । पौडेल उद्योग वाणिज्य महासंघ इटहरीको निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै, बेलबारीको कान्तिपुर वासिङ उद्योगले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर चलाएको पाइएपछि मेसिनहरू नष्ट गरिएको छ । आवश्यक कागजात बुझाएपछि बालुवा प्रशोधन प्लान्ट भने सुचारु भएको जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेले जानकारी दिइन् । क्रसरबाट भएको कारोबारको विषयमा आन्तरिक राजश्व कार्यालय विराटनगरले अनुसन्धान गरिरहेको उनले बताए ।

मिक्लाजुङको देवीथान कंक्रिट उद्योगले भ्याट बिल जारी गरे पनि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नै नभएको र अनुमति बिना ढुङ्गा प्रशोधन गरेको पाइएको छ ।

आयोजनाकै लागि भनेर अनुमति पाएको श्री सिआरएफजी–टुण्डी जेभीले आयोजना बाहिर सामग्री बिक्री गरेको आशंकामा अनुसन्धान भइरहेको छ । यी सबै उद्योगका बिल भरपाई र खाताहरू अहिले आन्तरिक राजश्व कार्यालय दमकले अध्ययन गरिरहेका छन् ।

एसियन हाइवेमा असर


क्रसर उद्योगहरू करिब ५० दिनदेखि बन्द हुँदा एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन ९५.७६ किलोमिटर सडकको भौतिक प्रगति सुस्त भएको छ । प्याकेज–१ अन्तर्गत १५ किलोमिटर र प्याकेज–२ अन्तर्गत १० किलोमिटर सडक कालोपत्रेका लागि सबै तयारी पूरा भए पनि गिटी अभावले काम अघि बढ्न सकेको छैन ।

निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्ज्वल प्रसाईंका अनुसार कम्पनीसँग ३० करोड रुपियाँ बराबरको अलकत्रा (बिटुमिन) मौज्दात छ, तर गिटी नहुँदा दैनिक ८०० घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ । “हामीसँग सामग्री भएर पनि काम गर्न पाएका छैनौँ,” प्रसाईंले भन्नुभयो, “दैनिक ५०० मिटर सडक कालोपत्रे गर्ने लक्ष्य थियो, जुन अहिले पूर्ण रूपमा प्रभावित भएको छ,” प्रसाइँले भने । अर्कोतर्फ, प्याकेज–२ को ठेक्का लिएको सिपिआइएफजीसँग भने अलकत्राको समेत अभाव रहेको बुझिएको छ ।
आयोजनाका प्रमुख सुनीलबाबु पन्तका अनुसार हालसम्म समग्र आयोजनाको भौतिक प्रगति २२ देखि २३ प्रतिशत मात्र छ । ‘बेस कोर्स’ तयार भइसकेका सडकहरूमा तत्काल कालोपत्रे नगरे वर्षायाममा ती सडकहरू पुनः बिग्रने जोखिम बढेको छ ।

समस्या समाधानका लागि निर्माण व्यवसायीहरूले दर्ता नभएका क्रसरलाई लिजमा लिएर चलाउने प्रस्ताव गरे पनि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कानुनी प्रक्रिया पूरा नगरी उद्योग चल्न नदिने अडान लिएका छन् । प्रजिअ कट्टेलले दर्ता प्रक्रिया र वातावरणीय मापदण्ड पूरा नगर्ने उद्योगहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिइने बताए ।

राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबका क्रसर उद्योगहरूको बेथिति र राजश्व चुहावटको घटनाले राजमार्ग निर्माणमा निर्माण सामग्रीको अभाव सिर्जना हुँदा झण्डै २ महिनादेखि निर्माण कार्य प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।