विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यद्यपि, प्रदेशसभा सचिवालयले अहिलेसम्म औपचारिक कार्यसूची भने प्रकाशन गरिसकेको छैन।
यस पटक कोशी सरकारले करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। यो चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको तुलनामा झण्डै ४ अर्ब बढी हो। संघीय सरकारको बजेटको आकार बढेका कारण र अनुदान रकममा भएको वृद्धिले प्रदेशको बजेटको आकार पनि बढ्न लागेको हो।
बजेटमा विगतमा जस्तै भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। मन्त्री लिङ्थेपका अनुसार शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। संघीय सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तथा ५० युनिटभन्दा बढी बिजुली खपतमा लगाएको भ्याटका कारण मारमा परेका निम्न मध्यम वर्ग र सुकुम्बासीलाई राहत दिने गरी प्रदेशले केही विशेष कार्यक्रमहरू ल्याउने तयारी गरेको छ।
चालू आर्थिक वर्षको कार्यसम्पादनलाई हेर्दा सरकारले करिब ३२ अर्ब रुपैयाँ मात्र आम्दानी गरेको छ। गत वर्ष ८० प्रतिशत बजेट खर्च भएकोमा यस वर्ष खर्चको दर घटेर ७० प्रतिशतको हाराहारीमा खुम्चिने सरकारी निष्कर्ष छ। खर्च घटेका कारण वैशाख मसान्तसम्म प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको छ। यही मौज्दात र संघीय अनुदानलाई आधार मानेर सरकारले आगामी वर्षका लागि ठुलो आकारको बजेट ल्याउन लागेको हो।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।