विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच युद्ध अन्त्य गरी ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग पुनः सुचारु गर्ने प्रारम्भिक सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ । सोमबार तेलको मूल्य घटेर गत मार्च महिनायताकै सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।
यो समाचार सार्वजनिक भएसँगै ब्रेन्ट क्रुडको मूल्य ४.१० प्रतिशतले घटेर प्रतिब्यारेल ८३.७५ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) को मूल्य पनि ४.७२ प्रतिशतले घट्दै ८०.८७ डलर कायम भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको यो सहमति अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा दुई देशबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
सम्झौताको मस्यौदा अनुसार इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य हुनेछ र ३० दिनभित्र विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः खुला गरिनेछ । विश्वको कुल तेल र ग्यास आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यो मार्ग विगत तीन महिनादेखि युद्धका कारण बन्द हुँदा विश्व बजारमा आपूर्तिको संकट चुलिएको थियो ।
बजार विश्लेषकहरूका अनुसार युद्ध अन्त्य हुने र तेलको प्रवाह पुरानै अवस्थामा फर्किने निश्चित भएसँगै कच्चा तेलको मूल्यमा थपिएको भूराजनीतिक जोखिमको हिस्सा घट्न थालेको हो । हाललाई ६० दिनको युद्धविराम अवधि घोषणा गरिएको र यसबीचमा थप बृहत् शान्ति वार्ता हुने बताइएको छ । यद्यपि, आणविक मुद्दा र अन्य रणनीतिक विषयमा हुने भावी वार्ताले तेलको मूल्यमा थप प्रभाव पार्ने विज्ञहरूको अनुमान छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।