विराटनगर । कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसममा बदली आएसँगै केही स्थानमा वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभावका कारण कोशी प्रदेशसहित देशका विभिन्न भागमा मौसममा फेरबदल देखिएको हो।
अहिले कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको सोमबारको पूर्वानुमान अनुसार कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी र तराईका क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ ।
मौसमविद्का अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ । विराटनगरसहित कोशीका तराई क्षेत्रमा पनि आंशिक बदली भई केही स्थानमा मौसम परिवर्तन हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिम तराईमा तातो हावाको लहर
देशको पूर्वी र मध्य भागमा वर्षाको सम्भावना रहँदा पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। कोशीमा वर्षाले सित्तल बनाउने संकेत देखिए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने सोमबार ‘तातो दिन’ हुने महाशाखाको भनाइ छ।
ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा (लु) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ। पहाडमा वर्षा र तराईमा गर्मीको यो मिश्रित प्रभावले गर्दा स्वास्थ्य र यात्रामा विशेष ध्यान दिन मौसमविद्हरूको सुझाव छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।