लोड हुँदैछ...

मेनु

संस्थापन इतर काँग्रेसको सन्देश : अबको नेता डा. शेखर

संस्थापन इतर काँग्रेसको सन्देश : अबको नेता डा. शेखर

विराटनगर । नेपाली काँग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आइतबार ‘वृहत एकता, साझा प्रतिबद्धता’ भन्ने नाराका साथ प्रदेश भेला गर्यो । कार्यक्रमको आयोजक प्रदेश समिति भनिएपनि प्रदेश समितिका सभापति उद्धब थापा अनुपस्थित रहे । डाक्टर शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा महामन्त्री भुपेन्द्र राईले सभापतित्व गरे भने विराटनगर महानगरपालिकाका सभापति दिपक चापकागाईंले कार्यक्रम सञ्चालन गरे ।

काँग्रेस सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले एकलौटी ढंगले क्रियाशिल सदस्यता अद्यावधिक र १५ औं महाधिवेशनको तयारी गरिरहेको बेला संस्थापन इतर पक्षमा रहेका सबै समूहहरु (देउवा, कोइराला र सिटौला लगायत)को यो भेलाले दुईवटा सन्देश दिएको छ । पहिलो सन्देश पार्टी विभाजन हुनसक्छ र दोस्रो इतर पक्षको नेता डाक्टर शेखर कोइराला सर्वमान्य हुन् ।

नेताहरुले सोही कुरालाई बल पुग्ने गरी भाषण गरे । काँग्रेस नेता बलबहादुर केसीले नामै लिएर डाक्टर शेखरलाई नेतृत्व लिएर अगाडि बढ्न आग्रह गरे । ‘नेपाली काँग्रेसलाई मिलाएर लिएर जानुपर्छ । यसको नेतृत्व शेखर कोइरालाले लिनुभएको छ । हामीले साथ दिनुपर्छ,’ केसीले भने ।

केसीले मात्रै होइन पार्टीका पूर्व महामन्त्री सशांक कोइरालाले पार्टी स्पष्ट रुपमा विभाजन भइसकेको दाबी गरे । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ उनले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ ।’ उनले यति मात्रै भनेनन् यसको नेतृत्व अब उनकै दाजु डाक्टर शेखर कोइरालाले गर्नेछन् । ‘पार्टी एकता भएपछि मात्रै काँग्रेसमा शक्ति आउँछ । पार्टी एकताको लागि यो भेला गर्नुपर्यो । मेरो दाई पनि हो । शेखर दाईले पार्टी एकताको नेतृत्व गरिरहनु भएको छ । हामी उहाँको साथमा छौं,’ सशांकले भने । गगन थापाले अब पार्टी चलाउन नसक्ने उनको दाबी थियो । ‘यत्रो मानिसलाई बाहिर राखेर पार्टी चलाउन सक्नुहुन्छ ?,’ उनको गगन थापालाई प्रश्न थियो ।

काँग्रेसका पूर्व उपसभापति समेत रहेका नेता विजयकुमार गच्छदारले भने कोइराला पक्षलाई सचेत पनि गराए । गच्छदारले नेता शेखर कोइरालालाई पार्टीको बृहत्तर हितका लागि आफ्नो अहम् (इगो) त्याग्न र फराकिलो छाती बनाउन सुझाव दिए । ‘तपाईंहरू पनि धेरै इगोको कुरा नगर्नुस् । इगोको कुरा गर्दाखेरि मैले नेपाली कांग्रेस विभाजन भएको देखेको छु । म शेखर दाइलाई पनि सन्देश दिन चाहन्छु— तपाईंहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुस् । तपाईं पनि एकदम ठूलो छाती लिएर जानुस्, ठूलो छाती नलिइकन हुँदैन,’ उनले भने ।

गच्छदारले गगन थापालाई विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट राजनीतिक रूपमा सभापति भएपनि अहंकार नराख्न र अग्रजहरूबाट सिक्न आग्रह गरे । ‘गगन थापाजी, तपाईं कांग्रेसको सभापति भइसक्नुभयो विशेष अधिवेशनबाट । नट वनली द्याट, सर्वोच्च अदालतबाट तपाईं वैधानिक रूपले बलियो सभापति बन्नुभएको छ । अनि सभापतिको के भूमिका हुन्छ, तपाईंलाई आउँदैन भने सिक्नुस् ! कृष्ण सिटौला गुरूहरूसँग सिक्नुस्, मिनेन्द्र रिजालसँग सिक्नुस्,’ उनले भने ।

नेताहरुले डाक्टर शेखर कोइरालालाई प्रमुख अतिथि मानेर अगाडि बढ्नु भनेको इतर पक्षको नेता बनाएको सन्देश भएको बताएका छन् । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका भीम पराजुलीले सबैले मानेर एउटा सन्देश दिएको बताए । ‘डाक्टर शेखरलाई प्रमुख अतिथि बनाएर एउटा एकताको सन्देश निद खोजिएको हो,’ उनले भने, ‘यसले नियमित महाधिवेशन पक्षधरहरु सबै समूह एक हुने संकेत गरेको छ ।’ काँग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले पनि संस्थापनको विपक्षमा रहेको सबै एक हुने संकेत गरेको बताए । ‘हामी सबै पक्ष मिल्छौं भन्ने सन्देश हो,’ उनले भने । तरुण दलका पूर्व केन्द्रीय सदस्य नेत्र पौडेलले अबको सर्वमान्य नेता डाक्टर शेखर कोइराला हुने दाबी गरे । ‘यो भेलाको सन्देश के हो भन्ने कुरा स्पष्टै छ नि,’ उनले भने, ‘पूर्व उपसभापति, महामन्त्री भइसकेका सबै नेताहरुले डाक्टर शेखरलाई प्रमुख अतिथि मानेर बस्नु भएको छ । अब पनि कुनै कन्फ्युजन छ र ?।’

कसले के भने ?

कार्यक्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति वक्ताहरुले तितो पोखे । अधिकांशले पार्टी विभाजनको दिशामा जान लागेको भन्दै चिन्ता व्यक्त गरे ।

नेता डा. शेखर कोइरालाले भने कुनै पनि हालतमा पार्टी फुट्न नदिने बताए । काँग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए । ‘काँग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना काँग्रेस अगाडि बढ्न सक्दैन,’ कोइरालाले भने, ‘काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । काँग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल तर्सनेहरूको देश भएको बताए । ‘राष्ट्रपति नै तर्सिनुभएको छ । आन्दोलन भयो । प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो । संविधानमा त्यो कल्पना छैन, तर हामी पनि डराएर मान्यौँ,’ उनले भने । भय मेटाउन मनदेखि खण्डित कांग्रेसले नसक्ने उनले बताए ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको अवस्थामा जाँदै गरेको दाबी गरे । नेता कुन्दनराज काफ्लेले पार्टी एकतामा जोड दिए । ‘काँग्रेसमा एकता हुनुपर्छ । तर अहिले काँग्रेस चोइट्याउन खोजिँदैछ । गगन र विश्व प्रकाशले पार्टी फुटाएर जान खोजिरहेको छ,’ काफ्लेले भने ।

वर्तमान केन्द्रीय सदस्य आनन्द सन्तोषी राईले काँग्रेसको एकता आफ्नो अभिष्ट भएको बताए । ‘काँग्रेस कठिन मोडमा छ । १५ औ महाधिवेशनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । नेतृ सरिता प्रसाइँले काँगेस उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गर्दै पार्टी विभाजन तिर अग्रसर भएको बताइन् ।
नेता उमेशजङ्ग रायमाझीले विशेष महाधिवेशनले पार्टी दुई धार भएको दाबी गरे । उनले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन भएको बताए ।

‘विधान, विचार र सिद्धान्त नमानेका कारण नियमित महाधिवेशन भएन । हामी सत्तामा रमायौं । विधान र सिद्धान्तलाई उल्लंघन गर्यौं । त्यसैले काँग्रेस दुवै समूहले बिगारे,’ उनले भने । रायमाझीले पार्टी एकताका पहल सभापति गगन थापाले गर्नुपर्नेमा जोड दिए । काँग्रेसको पुरानो कुनै पनि नेतृत्व असफल भएको भन्दै मञ्चमा बस्ने सबैलाई पदको लोभ नगर्ने आग्रह गरे ।

नेता रामहरि खतिवडाले सिंहदरबार मात्रै जलाएर नपुगेर षड्यन्त्रकारीहरुले काँग्रेस जलाउन लागेको दाबी गरे । उनले पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । नेता गोविन्द शाहीले निर्वाचन आयोगले षड्यन्त्र गरेर दिएको चारतारे झण्डा र रूख चिन्ह गगनको हातमा पुगेको बताए । भेलामा उपस्थित नेता तथा कार्यकलाईलाई इंगित गर्दै उनले भने, ‘यो समूहलाई नमिलाए प्रजातान्त्रिक शक्ति समाप्त हुनेछन् । लोकतन्त्र समाप्त हुन्छ ।’

नेता मिन विश्वकर्माले काँग्रेस बलियो नभए, व्यवस्था नरहने र व्यवस्था नरहे मुलुक नरहने दाबी गरे । विशेष महाधिवेशनले पार्टी विभाजित भएको र ९० सिट रहेको काँग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेता मोहन बस्नेतले काग्रेस विभाजनको संघारमा रहेको दाबी गरे । उनले सभापति गगन थापालाई खलनायकको भूमिकामा रहेको आरोप लगाए । नेता, एनपी साउदले विराटनगरको भेला एकताका लागि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।