विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालमा डर र तर्साउने राजनीतिक संस्कृतिको अन्त्य गर्न कांग्रेसले अग्रसर हुनुपर्ने बताएका छन्। विराटनगरमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा भयको राजनीति संस्थागत बन्दै गएको टिप्पणी गरे।
“नेपाल तर्सनेहरूको देश बनेको छ,” सिटौलाले भने, “राष्ट्रपति नै तर्सिनुभयो, आन्दोलन भयो, प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो। संविधानमा त्यस्तो कल्पना छैन, तर हामी पनि डराएर मान्यौँ।”
उनले कांग्रेसले अब डराउने र तर्साउने प्रवृत्तिको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको रक्षा गर्नुपर्ने बताए। विशेष महाधिवेशनको सन्दर्भ उल्लेख गर्दै उनले संविधानको आधारभूत संरचनामा परिवर्तन हुन नसक्ने स्पष्ट पारे।
“एउटै पार्टी कांग्रेस हो, जसले शासकले जनताको मनमा पारेको भ्रम हटाउन सक्छ,” उनले भने।
सिटौलाले पार्टीभित्र देखिएको आन्तरिक विवाद, महाधिवेशनको अन्योल र कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। विवाद समाधान गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने भन्दै अनावश्यक ढिलासुस्ती र ‘नाटक’ अन्त्य गर्न आग्रह गरे।
“विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुङ्गिन्छ। यो साहस हृदयबाट आउनुपर्छ,” उनले नेतृत्वलाई लक्षित गर्दै भने, “लेख्ने र मेटाउने शक्ति तपाईँहरूसँगै छ, अब एकमुष्ट निर्णय गरेर अघि बढ्नुस्।”
उनले विगतका महाधिवेशनका अभ्यासलाई आधार बनाएर आगामी महाधिवेशन समयमै सम्पन्न गर्न आग्रह गरे। पार्टीभित्र आफ्नै साथीहरूमाथि गरिएको व्यवहार लोकतान्त्रिक मूल्यविपरीत रहेको उनको भनाइ थियो।
“हामी लोकतन्त्रवादी हौँ, हामीमा मानवता हुनुपर्छ। शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको व्यवहार निन्दनीय छ,” उनले भने।
देशको लोकतन्त्र र संवैधानिक व्यवस्था चुनौतीमा रहेको उल्लेख गर्दै सिटौलाले कांग्रेसले आन्तरिक विवाद छिट्टै समाधान गरी बलियो र एकताबद्ध बन्नुपर्ने धारणा राखे। संस्थापन पक्ष जिम्मेवार भएर अघि बढे मात्रै पार्टी र देश दुवैको संकट समाधान सम्भव हुने उनको निष्कर्ष थियो।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।