इटहरी । सुनसरीको इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै परियोजना अगाडि बढ्ने भएको हो।
एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा परियोजनाको वित्तीय सम्झौता गरिएको छ। एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजनालाई पूर्वी नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
इटहरीस्थित भाटभटेनी नजिक निर्माण हुने सम्मेलन केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यवसायिक कार्यक्रम तथा गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) आयोजना गर्न सकिनेछ। परियोजनाले कोशी प्रदेशसँगै भारतलगायत छिमेकी मुलुकका आयोजकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष बस्नेतले परियोजनाले पूर्वी नेपाललाई पर्यटन र व्यवसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार परियोजना सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय, कृषि, सेवा तथा पर्यटन क्षेत्रले समेत लाभ लिनेछन्।
परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले पूर्वी नेपालमा ठूलो सम्मेलन केन्द्रको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको उल्लेख गर्दै यसले नेपाल, भारत, भुटान र बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यवसायिक केन्द्रका रूपमा पूर्वी नेपालको पहिचान थप सुदृढ बनाउने बताए।
पूर्वाधार विकाससँगै इटहरीलाई अन्तर्राष्ट्रियस्तरका सम्मेलन, प्रदर्शनी तथा पर्यटन गतिविधिको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित परियोजना अघि बढाइएको जनाइएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।