लोड हुँदैछ...

मेनु

कांग्रेसलाई कमजोर बनाउने गगन थापा खलनायक हुन् : बस्नेत

कांग्रेसलाई कमजोर बनाउने गगन थापा खलनायक हुन् : बस्नेत

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन्।

विराटनगरमा आज आयोजित नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टीभित्रको क्रियाशील सदस्यता विवाद र आन्तरिक असन्तुष्टिप्रति तीव्र असन्तोष व्यक्त गरे।

बस्नेतले नेतृत्वले योजनाबद्ध रूपमा पुराना, स्थापित तथा योगदान गरेका नेताहरूलाई पाखा लगाउने प्रयास गरिरहेको दाबी गरे। बीपी कोइरालाका पुत्र शशांक कोइराला, वरिष्ठ नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरण प्रक्रियामा समेत अवरोध सिर्जना गरिएको उनको आरोप थियो।

“बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,” बस्नेतले भने, “यो कांग्रेस सिध्याउने षड्यन्त्र हो।” उनले पार्टीलाई कमजोर बनाउने कार्य विभिन्न बहानामा हुँदै आएको उल्लेख गर्दै त्यसको मुख्य जिम्मेवार वर्तमान सभापति गगन थापा रहेको आरोप लगाए।

“कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो। त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन्, उनबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?” उनले प्रश्न गरे। बस्नेतले पार्टीभित्रको विवाद समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्तालाई एकढिक्का भएर लाग्न आह्वान गरे।

कांग्रेसलाई बलियो बनाउने हो भने आन्तरिक लोकतन्त्र, निष्पक्ष सदस्यता व्यवस्थापन र पुराना कार्यकर्ताको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ। विराटनगरमा जारी इतर पक्षको भेलामा कांग्रेसभित्र देखिएको क्रियाशील सदस्यता विवाद, संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।