लोड हुँदैछ...

मेनु

खोटाङमा खेलकुदको बजेट अनियमितताको आरोप

खोटाङमा खेलकुदको बजेट अनियमितताको आरोप

खोटाङ । जिल्ला खेलकुद विकास समिति खोटाङमा खेलकुद बजेटको रकम अनियमित रूपमा निकासा गरिएको विषय सार्वजनिक भएको छ। १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले उपलब्ध गराएको ८ लाख रुपैयाँमध्ये ६ लाख ७६ हजार रुपैयाँ समितिका निवर्तमान अध्यक्ष रमेश राई ‘महेश’को नाममा निकासा भएको खुलेको हो।

दिक्तेलस्थित कृषि विकास बैंकमा रहेको समितिको खाताबाट विभिन्न मितिमा रकम निकालिएको विवरण सार्वजनिक भएको छ। विवरणअनुसार २०८१ माघ १९ गते ३८ हजार, चैत ११ गते १ लाख २५ हजार, चैत ३१ गते ४ लाख २० हजार, २०८२ वैशाख २३ गते १० हजार, साउन ११ गते ४३ हजार र माघ ११ गते ४० हजार रुपैयाँ निकासा गरिएको छ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले ६ लाख ५६ हजार रुपैयाँ अध्यक्ष राईले पेश्कीस्वरूप लिएको र २० हजार रुपैयाँ ट्र्याकसुट खरिदमा खर्च भएको बताए। बाँकी १ लाख ४४ हजार रुपैयाँ भने २०८१ असारमा बुइपामा आयोजित प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च गरिएको उनको भनाइ छ।

केसीका अनुसार १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएपछि उक्त रकम प्रयोग नगरिएकाले अध्यक्षले पेश्कीस्वरूप राखेका थिए। रकम समितिको खातामा फिर्ता भएपछि प्रदेश खेलकुद विकास बोर्डलाई फिर्ता गरिने उनले बताए।

निवर्तमान अध्यक्ष राईले पनि रकम गलत नियतले नलिएको दाबी गरेका छन्। उनले कामकै प्रयोजनका लागि पेश्कीस्वरूप रकम लिएको र तीन दिनभित्र खातामा रकम जम्मा गरी आवश्यक भौचर उपलब्ध गराउने बताएका छन्।

तर खेलाडी तथा खेलकुदकर्मीहरूले भने प्रतियोगिता नै सञ्चालन नभएको अवस्थामा खेलकुदका लागि आएको बजेट निकासा गरेर अपचलन गरिएको आशंका व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।